काठमाडौं, 12 नवम्बर 2021
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई थप बलियो बनाउनका लागि पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरिएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनलाई चूनावसम्म नै बलियो बनाउनका लागि समिति गठन गरिएको बताउनुभएको हो । उहाले समितिले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि नीतिगत सुझाव दिने जानकारी दिनुभयो । समितिको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी गराउदै अध्यक्ष नेपालले अव गठबन्धनलाई कसैले कमजोर बनाउन नसक्ने धारणा राख्नुभयो । त्यस्तै उहाले आफ्नो पार्टीमा एमाले छाडेर आउने, अन्य पार्टीबाट प्रवेश गर्ने र सहकार्य गर्न चाहनेहरुको संख्या बढेको भन्दै यसले थप उत्साह पैदा गरेको बताउनुभयो । उहाले अन्य केहि पार्टी नेकपा (एकीकृत समाजवादी) मा समाहित गर्न खाजेको दावी गर्नुभयो । अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) बिरुद्ध कसैले भ्रम सिर्जना गर्न खोजे प्रतिवाद गर्न निर्देशन दिनुभयो ।









































