काठमाडौं, 7 जनवरी 2022
सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार शुक्रबार बसेको समिति बैठकले संसद लामो समय अवरुद्ध हुनु उचित नभएको भन्दै संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय भएको सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो । संसदलाई बिनाअवरोध सञ्चालन गर्न सरकारको जतिकै प्रतिपक्षीको पनि कर्तव्य भएकोले सवै गम्भीर हुनुपर्ने उहाले बताउनुभयो । त्यस्तै बैठकले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सातवटै प्रदेशमा गठन गरिएको संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय भएको उहाले बताउनुभयो । माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनमा केन्द्रीत भएर बैठकमा छलफल भएको कार्कीले जानकारी दिनुभयो । पाँच दलिय सत्ता गठबन्धनबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँड भइसकेको छ । गठबन्धनले कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई ५–५, जनता समाजवादी पार्टीलाई २ र राष्ट्रिय जनमोर्चालाई एक सिट छुट्याउदै उम्मेद्वारी समेत दर्ता गरिसकेको छ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका रिक्त १९ सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।









































