नयाँ दिल्ली, २५ जनवरी
‘अमेरिका गट्स ट्यालेन्ट’मा सहभागी हुन पुगेका, आफूमा रहेको कलालाई विश्वव्यापी बनाउने क्रममा पार्कर खेलाडी दिनेश सुनारलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डले चौथो प्रमाणपत्र दिएको छ ।
उनले गिनिज बुकमा तीन पटक नाम लेखाइसकेका थिए । सुनारले फेरि अर्को किर्तिमानको अभ्यास गरेर उनको ५ जनवरीको अभ्यासको प्रमाणपत्र शनिबार दिएको सुनारले बताए ।
भिजिट नेपाल २०२० लाई लक्षित गर्दै सुनारले अमेरिकामा ‘द मस्ट ब्याकवार्डस समसल्टस् अगेन्स्ट अन ट्रयाम्पोलाइन इन वन आवरर्स’मा ४ सय ६० पटक ब्याकफिल्प्स् (भित्तामा उल्टिजम्प) गरी नयाँ किर्तिमान कायम गरेका हुन् । विश्वमा हालसम्म यो प्रकारको किर्तिमान कसैले पनि बनाएको छैन ।

०४८ सालमा राजापानीमा जन्मिएका सुनार जिम्न्यास्टिकमा रुची राख्ने खेलाडी हुन् । उनले सोही ठाउँमा बाख्रा चराउन जाँदा या अन्य कामका लागि गाउँघर, बगरमा उल्टी जम्पको अभ्यास गर्थे ।
‘मैले गाउँमा गरेको अभ्यासको प्रतिफलले काठमाडौं हुँदै अमेरिकासम्म आएर रेकर्ड कायम गर्ने मौका पाएँ’, सुनार भन्छन्,‘देशको नाम राख्ने होडमा अझै म अन्य रेकर्ड बनाउने तयारीमा छु ।’
सशस्त्र प्रहरी बलमा जवान पदमा ०६९ सालमा भर्ना भएका थिए । संगठनमा आएपछि पनि उनले कामलाई निरन्तरता दिएका थिए । अहिले उनले उक्त पदबाट राजीनामा गरिसकेका छन् ।









































