काठमाडौं, 11 सितम्बर 2021
नेपाली कम्युनिष्ट नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा कम्युनिष्ट विचारधाराका नेताहरुले पेरु कम्युनिष्ट पार्टी अध्यक्ष गोन्जालोसहित उनका टोलीलाई तत्काल रिहा गर्नुपर्ने माग गरेका हुन् । कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले गोल्जाले नेपालको कम्युनिष्ट आन्दोलनको पनि प्रेरणाको श्रोत भएकोले उहाँको रिहाइ गर्नुपर्ने बताउनुभयो । उहाँले गोल्जालो गिरफ्तार भएपछि कम्युनिष्ट आन्दोलन नै कमजोर भएको महशुस गरेको बताउनुभयो । उहाँले अध्यक्ष गोल्जालोलाई रिहाइ गर्न अमेरिकी साम्राज्यवादहरुको हात रहेको पनि बताउनुभयो ।
अध्यक्ष गजुरेलले भन्नुभयो, ‘उहाँ गिरफ्तार हुनु भनेको पेरुको क्रान्तिको लागि मात्रै नभइ विश्वको कम्युष्टि आन्दोलनको लागि अपूरणीय क्षति हो, उहाँको गिरफ्तारपछि विश्व कम्युनिष्ट आन्दोलनको धक्का खाएको अनुभव गरेको छु, उहाँको तत्काल रिहाइ हुनुपर्छ, उहाँलाई अमानवीय व्यवहार भइरहेको छ, यसमा सारा विश्वले बिरोध गरिरहेको छ, हामीले नेपालमा कम्युनिष्ट आन्दोलन शुरु गर्दा धेरै पेरुको कम्युनिष्ट पार्टीको डकुमेण्ट ल्याएर अध्ययन गरेका थियौँ ।’
त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग इन्चार्ज धर्मेन्द्र बास्तोलाले गोञ्जालोले करिव ३० वर्ष लामो जेल जीवन बिताइरहेकोले पेरु सरकारले तत्काल रिहाइ गर्नुपर्ने माग राख्नुभयो । उहाँले गोञ्जालोको रिहाइको लागि आईतवार काठमाडौंमा वृहत प्रदर्शन गर्ने पार्टीको कार्यक्रम रहेको पनि जानकारी दिनुभयो । विभाग इन्चार्ज बास्तोलाले नेपाल भारत लगायत विश्वका क्रान्तिकारी शक्तिलाई कमजोर बनाउन एमसीसी ल्याइएको भन्दै त्यसलाई रोक्न सबैले एकजुट भएर प्रतिकार गर्नुपर्ने बताउनुभयो ।
विभाग इन्चार्ज बास्तोलाले भन्नुभयो, ‘विश्वका मानव जातीको मुक्तिका लागि, क्रान्तिका लागि उहाँ पेरुको जेलमा हुनुहुन्छ, पेरुले तुरुन्त मानवीयताका आधारमा गुन्जलोलाई तुरुन्त रिहा गरोस् हामी माग गर्दछौँ, उहाँलाई गिरफ्तार गर्नको लागि अमेरिकी साम्राज्यवादले अत्यन्तै घिनलाग्दो गतिविधि गरेको छ, आजभन्दा २९ वर्षअघि उहाँलाई गिरफ्तार गरिएको थियो, हामी भोलि आईतवार काठमाडौंमा उहाँको रिहाइको लागि प्रदर्शन गर्नेछौँ ।’
त्यस्तै कार्यक्रममा जनवादी गायक जीवन शर्माले गोन्जालो संसारभरका क्रान्तिकारी नेताहरुको र सर्वाहार क्रान्तिको हिरो भएकोले उहाँको तत्काल रिहाइ हुनुपर्ने बताउनुभयो । उहाँले अहिले उहाँ प्रतिक्रिया र साम्राज्यवादीहरुको पिञ्जडामा रहँदा पनि साम्राज्य र सामन्तवादका अघि नझुक्ने शिर बोकेर बसेको बताउनुभयो ।
जनवादी गायक शर्माले भन्नुभयो, ‘गोन्जाले संसारभरका क्रान्तिकारी नेताहरुको, सर्वाहार क्रान्त्किो हिरो हुनुहुन्छ, उहाँ अहिले प्रतिक्रिया र साम्राज्यवादीहरुको पिञ्जडामा रहँदा पनि साम्राज्य र सामन्तवादका अघि झुक्दै नझुक्ने शिर बोकेर बस्नुभएको छ, बाँचिरहनुभएको छ, कष्टकर जिन्दगी बिताइरहनुभएको छ, उहाँ हामी सबैको प्रेरणाको स्रोत हो, उहाँको तत्काल रिहा गरिनुपर्छ।’
जनवादी गायक शर्माले गोन्जालो प्रेरणाको श्रोत भएको र आफूलाई क्रान्तिका गीत गाउन पनि उहाँबाट प्रेरणा मिलेको बताउनुभयो । उहाँले गोन्जालोलाई जेलमा थुनेपनि उहाँको क्रान्ति, सोच र विचार विश्वका कम्युनिष्टहरुबाट नहराउने बताउनुभयो ।









































