गोरखा, ३ मार्च, २०२०
गोरखामा श्रम स्वीकृति विना काम गर्दै आएका आठ जना चिनियाँ नागरिकलाई प्रहरीले अध्यागमन विभाग काठमाडौं पठाएको छ ।
आरुघाट गाउँपालिका–३ सोतीमा निर्माण हुन लागेको अपर बुढीगण्डकी जलविद्युत आयोजनामा काम गर्दै आएका उनीहरुलाई सोमबार नियन्त्रणमा लिइएको प्रहरीले बताए ।
‘दश दिन अगाडि नै हामीले उनीहरुसँग पासपोर्टसहित आवश्यक कागजात मागेका थियौं,’ उनले भने, ‘तर उनीहरुले बुझाउन सकेनन् अनि नियन्त्रणमा लिएर विभाग पठाएका हौं ।’ उनीहरु मध्ये केहीसँग पासपोर्ट समेत नभएको अधिकारीले जानकारी दिए । ‘पासपोर्ट भएकाहरुको पनि श्रम स्वीकृति छैन, टुरिस्ट भिसामा आएर अनाधिकृत रुपमा काम गर्दै आएका रहेछन्,’ उनले भने ।
जलविद्युत आयोजनाको प्रारम्भिक सर्भेका लागि माटो परीक्षण लगायतका काम गर्दै आएका उनीहरुलाई सोतीबाट नियन्त्रणमा लिइएको हो ।









































