काठमाडौं , 18 सेप्टेम्बर 2020
अहिले देशभरी नै बाढी पहिरोले ठूलो जोखिम निम्त्याएको छ। सिन्धुपाल्चोक, बागलुङ, लगायतका जिल्लामा बाढी पहिरोले जनधनको क्षति समेत गरेको छ। यस्तै कास्कीको पोखरा महानगरपालिका २२ पिपलडाली र १७ झुरी चौतारामा घर भ्वाङ पर्दा पाँच घर परिवार विचलीमा परेका छन। मानविय क्षति नभएपनि परिवार घरबार बिहीन भएका छन । सोमबार दिउँसो घरमै बसिरहेका बेला घरको दक्षिण तर्फको भागमा एक्कासि ठुलो भ्वाङ परेको स्थानीयले बताएका छन। मङ्गलबार बिहान भुवाङको आकार बढेपछि घर छाड्नुपरेको पीडित राधिका विकले बताउनुभयो। घर क्षति भएपनि ज्यान जोगाउन सकिएको उहाँको भनाई छ । स्थानीय वडाले अहिले त्रिपाल, कम्बल र केही चामल सहयोग गरेको उहाँले बताउनुभयो । पोखरा २२ का वडा सदस्य मात्रिका बरालले समस्यामा परेका स्थानीयहरुको सहयोगका लागि महानगरपालिकासँग समन्वय भइरहेको बताउनुभयो । वडाबाट तत्काल अस्थायी रुपमा सेल्टर निर्माण गर्ने निर्णय गरिएको र थप सहयोगका विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । प्राकृतिक विपतीले वर्षेनी हुने क्षतिले त्यहाँका स्थानीय त्रासमा बस्न बाध्य छन। घर, सडक, पुल, नहर लगायतका स्थानहरु बढी भासिने गरेकोले त्यो समस्या समाधानका लागि आवश्यक योजना बनाएर अगाडी बढ्ने पोखरा महानगरपालिकाले जनाएको छ ।









































