5 अक्तूबर 2021
पश्चिमी सीमा नाका त्रिनगर–गौरीफन्टामा पुगेका यात्रु अलपत्र परेका छन्। भारतका विभिन्न सहरबाट नाकामा पुगेका सुदूरपश्चिमेली सहितका नेपाली अलपत्र परेका हुन्। गन्तव्य-सम्म पुगाउने भन्दै भाडा लिएका ट्राभल्स एजेन्सीले गौरीफन्टासम्म मात्रै पुगाएपछि नेपाली अलपत्र परेका हुन्। दीपायल-सम्म पुगाउने भन्दै दुई हजार 5 सय भारतीय रुपैयाँ भाडा लिएको ट्राभल्स एजेन्सीले नाकामै छोडेको प्रत्यक्ष दर्शीले बताए। उनीसँग मात्रै 80 जना भन्दा बढी यात्रु नेपाल आउन लागेका थिए। उनीहरु सबै नाकामा अलपत्र छन्। अन्य गाडीमा आएकाहरु पनि समस्यामा परेका छन्। यता ट्राभल्स एजेन्सीले बाटोमा भएको बढी खर्चका कारण यात्रुलाई गन्तव्य-सम्म पुगाउन नसकेको दाबी गरेको छ। ट्राभल्स एजेन्सीका प्रतिनिधि शेरबहादुर महराले बाटोमा बढी खर्च भएका कारण नाकामा मात्रै पुगाएको बताए। ‘भारतीय प्रहरी लगायतकालाई पैँसा दिँदा खर्च बढी भयो,’ उनले भने, ‘म एक लाख घाटामा छु।’ सोही कारण नाकामा मंगलबार विहान केहीबेर तनावसमेत सिर्जना भएको थियो। ट्राभल्स एजेन्सी र अटोरिक्सा चालकबीच विवाद भएपछि नाकामा तनाव सिर्जना भएको हो। बढी भाडा लिएको विषयमा एकअर्काबीच आरोप–प्रत्यारोप लगाउन थालेपछि विवाद भएको हो। यद्यपी अहिले भने नाकाको अवस्था समान्य हुँदै गएको प्रहरीले जनाएको छ।









































