काठमाडौं, 26 अप्रैल 2023
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि भएको चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ का जनताले दिएको बताएका छन्। बुधवार बिहान सामाजिक सञ्जालमार्फत चितवन–२ का जनतालाई धन्यवाद दिँदै लामिछानेले विजेयी भएपछि निर्वाचन क्षेत्रका सबै नागरिकको जनप्रतिनिधि हुने मान्यतामा आफू सधैँ प्रतिबद्ध रहने उल्लेख गरेका छन् ।
‘चितवन– २ सहित देशैभर गर्नुपर्ने काम धेरै छन्। तपाईंहरुकै भर र समर्थनमा विशेषतः राजनीतिलाई भूइँमान्छेसँग जोड्न र मुलुकलाई समृद्ध बनाउने अभियानका अवरोध तोड्न इमानका साथ लागिरहने छु,’ मतदातालाई धन्यवाद दिँदै लामिछानेले भनेका छन्, ‘चौतर्फी प्रहार र लाञ्छनाको जवाफ चितवन–२ का मतदाताले दिनुभएको छ।’
उप निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीप्रति व्यक्त भएको जनमतले थप गम्भीर, जिम्मेवार र नागरिक मैत्री बन्न उत्प्रेरित गरेको उनको भनाई छ । व्यक्तिगत प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन प्रतिस्पर्धी दलका उम्मेदवार र तिनका कार्यकर्ता समक्ष लामिछानेले आग्रह गरेका छन्।









































