नयाँदिल्ली, १ फेब्रुअरी
चीनमा रहेका नेपालीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको जोखिम देखिए सरकारले स्वदेश फर्काउने बताएका छन् ।
चितवनको भरतपुरमा मन्त्री ढकालले सरकार चीनमा रहेका नेपालीको सम्पर्कमा नै रहेको बताए ।
‘विद्यार्थीहरुसँग दैनिक सम्पर्कमा पनि छौं, उहाँहरुको चाहना पनि हामीले बुझेका छौं, प्रधानमन्त्रीज्यूसँग पनि यो बारेमा छलफल भैरहेको छ, त्यहाँ रहदा जोखिमपूर्ण अवस्था रहन्छ भन्ने भयो भने फिर्ता ल्याउँछौं ।’
चीनमा रहेका आफ्ना नागरिकलाई अन्य देशले धमाधम फिर्ता लगिरहेका छन् । नेपालमा पनि चीन पढ्न गएका विद्यार्थीका अभिभावकले उनीहरुलाई स्वदेश फर्काउन अपिल गरेका छन् ।
कोरोनाको जोखिमलाई न्यूनिकरण गर्न त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल, पोखरा, चितवन, बुटवल, तातोपानी र रसुवागढीमा स्वास्थयकर्मीसहितको हेल्पडेस्क राखिएको मन्त्री ढकालले जानकारी दिए ।
विमानस्थलमा डाक्टर र प्राविधिकसहितको ८ जनाको टोली राखिएको छ । चीनबाट आउनेबित्तिकै १ सय डिग्रीभन्दा बढी ज्वरो आएका व्यक्तिहरुलाई निगरानीमा राखेर हेल्प डेस्क मार्फत अस्पताल लैजाने तयारी व्यवस्था गरिएको स्वास्थ्यमन्त्री ढकालले बताए ।









































