काठमाण्डौँ, 11 फरवरी 2020
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले चीनमा रहेका नेपाली विद्यार्थीहरुलाई नेपाल ल्याउन र नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनसक्ने सम्भावनालाई ध्यान दिई पूर्व तयारी गर्न सरकारलाई निर्देशन दिएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले चीनमा नोवल कोरोना भाइरसको संक्रमण बढ्दै गएको र मानविय क्षति पनि बढ्दै गई विश्वभर त्रास फैलिरहेको अवस्थामा चीनमा अध्ययनरत नेपाली विद्यार्थी लगायत अन्य नेपालीलाई उचित व्यवस्था मिलाई नेपाल ल्याउन र नेपालमा कोरोना भाइरसबाट संक्रमण हुन सक्ने सम्भावित खतरालाई ध्यान दिई पूर्वतयारी अपनाउन नेपाल सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो। समिति सभापति जयपूरी घर्तीले सरकारले अहिले सम्म गरेको तयारी स्वागत योग्य भएपनि सबै प्रदेशमा तयारीलाई विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
बैठकमा सांसदहरुले चीनबाट विद्यार्थीहरुलाई ल्याइएपछि राख्ने क्वारेन्टाइनको विषयमा विवाद गर्न नहुने बताएका छन्। त्यस्तै सरकारले राजधानीमा मात्र अस्पताल तोकेर उपचारको व्यवस्था गरेको तर बाहिर कुनै व्यवस्था नगरेको भन्दै अशन्तुष्टि व्यक्त गरेका छन्। सांसद उमाकान्त चौधरीले सरकारले केन्द्रमा मात्रै अस्पताललाई तयारी अवस्थामा राखेको तर बाहीर कुनै व्यवस्था नगरेको भन्दै सरकार गम्भिर हन नसकेको बताउनुभयो। उहाँले सातै प्रदेशमा पूर्वतयारीको लागि सरकारले काम गर्नुपर्ने बताउनुभयो।
सांसद खगराज अधिकारीले नोवल कोरोना भाइरसको संक्रमण भएपनि एक मिटर भन्दा नजिक भएमात्र सर्न सक्ने भएकाले भक्तपुरको खरिपाटीमा राख्न हुँदैन भनेर विरोध गर्न नहुने बताउनुभयो। उहाँले यस अघि एक जनालाई संक्रमण देखा परेको अवस्थामा क्वारेन्टाइनमा नराखी उपचार गरिएको भन्दै त्यस्तो अवस्था फेरी आउन नदिन ध्यान दिन आग्रह गर्नुभयो। त्यस्तै उहाँले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा अरु वेला साधन स्रोत केही पनि नदिने र आपतकालिन अवस्थामा मात्र तयारी अवस्थामा राख्ने परिपाटीको अन्त्य गर्न सरकारको ध्यान जानुपर्ने बताउनुभयो।
सांसद जीवनराम श्रेष्ठले चीनको हुवेई प्रान्तको वुहान सहरमा रहेका नेपालीलाई मात्र ल्याउने हो की सबैलाई ल्याउने हो सरकारले प्रस्ट गर्नुपर्ने बताउनुभयो। उहाँले सरकारले वुहानमा रहेका नेपालीहरुलाई छिटो ल्याउने व्यवस्था नगर्दा उनीहरुको परिवारमा मानसिक तनाव बढेकोले त्यसतर्फपनि ध्यान दिन आग्रह गर्नुभयो।
सांसद गजेन्द्रबहादुर महतले नेपाली विद्यार्थीहरुलाई खरिपाटीमा राख्न दिनुहुँदैन भन्दै विरोध गर्न नहुने बताउनुभयो । सरकारले राखेको ठाउँमा जिम्मा लिएर राख्ने भएकाले आतंकित हुने काम गर्न नहुने उहाँले बताउनुभयो।
सांसद गगन थापाले सरकारले कोरोना भाइरसको संक्रमण देखिएमा गर्ने उपचारको तयारीको विषयमा अझै प्रष्ट पार्न नसकेको बताउनुभयो। उहाँले चीनबाट ल्याउने विद्यार्थी लिन जाने बेलादेखि क्वारेन्टाइन गराउने सम्मका लागि के कस्तो तयारी गरेको छ त्यसको जानकारी समेत प्रस्टसँग दिनुपर्ने बताउनुभयो।
बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले चीन तर्फका सबै नाकाहरु तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा र सबै पर्यटकीय क्षेत्रहरुमा हेल्प डेस्क राखि सावधानी अपनाइएको बताउनुभयो। तर विशेष प्रकारको मास्क एन९५ को अभाव भएकोले उपचारमा समस्या हुन सक्ने भन्दै विदेशबाट आयात गर्ने तयारी गरिएको समेत उहाँले जानकारी दिनुभयो।









































