काठमाडौं, 22 अप्रैल 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई सामाजिक न्यायको प्रत्याभूति गराउँदै देशलाई समृद्धिको नयाँ युगमा पुर्याउन सरकार कटिबद्ध रहेको बताएका छन् । विश्व सर्वहारा वर्गका महान् नेता भ्लादिमिर इल्यिच लेनिनको १५३ औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा शएक सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले वर्गसंघर्ष र विचारधारात्मक संघर्षको लामो शृङ्खला एवम् विभाजन र एकताका अनगिन्ती अनुभवहरू हासिल गर्दै कम्युनिस्ट आन्दोलन आजको अवस्थामा आइपुगेको बताए ।
उनले भनेका छन्, ‘नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्याउन सरकार कटिबद्ध छ । शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने दायित्व हाम्रासामु छ ।’
देश अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यवहारिक अभ्यासको चरणमा प्रवेश गरेको भन्दै उनले प्रतिगमनविरोधी वामपन्थी तथा लोकतान्त्रिक शक्तिको वर्तमान गठबन्धन सरकार हालसम्म प्राप्त उपलब्धिहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको समेत बताएका छन् ।









































