काठमाडौं, 18 अगस्त 2021
जनता समाजवादी पार्टी, नेपालको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामक नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सरकारले मंगलवार ल्याएको राजनीतिक दलसम्बन्धि अध्यादेश बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेपछि महन्थ ठाकुर पक्ष नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको हो । ठाकुर पक्षको जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामक दल ४३४ नम्बरमा दर्ता भएको छ । महन्थ ठाकुर अध्यक्ष रहेको सो पार्टीको वरिष्ठ नेता राजेन्द्र महतोलाई बनाइएको छ । जसपा (लोकतान्त्रिक) पार्टीले २४ जनाको कार्यकारिणी समिति बनाएर जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) पार्टी दर्ता गराएको पार्टीका वरिष्ठ नेता महतोले बताउनुभयो । उहाँले अब चाँडै निर्वाचन आयोगले पार्टीको प्रमाणपत्र दिने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नामक दर्ता गराइएको छ, विधि, प्रक्रिया पूरा गरेर निर्वाचन आयोगले हामीलाई प्रमाणपत्र दिन्छ ।”
वरिष्ठ नेता महतोले पार्टीमा प्रतिनिधि र राष्ट्रिय सभाका गरी १५ जना सांसद रहेको र पार्टीको चुनाव चिन्ह साइकल राखेको बताउनुभयो ।









































