जापानी विदेशमन्त्रीले भूकम्पबाट भएको क्षतिप्रति गरे दुःख व्यक्त
काठमाडौं,7 नोभेम्बर 2023
गत शुक्रबार पश्चिम नेपालका गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति जापानका विदेशमन्त्री कामिकावा योकोले दुःख व्यक्त गरेका छन्। विदेशमन्त्री कामिकावाले भूकम्पबाट धेरैको ज्यान गएको र ठूलो भौतिक क्षति भएको सुन्दा आफूलाई अत्यन्त दुःख लागेको उल्लेख गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
विदेशमन्त्री कामिकावाले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै शोक सन्देश पठाएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले जनाएका छन्।
शोक सन्देशमा उनले जापान सरकार सदैव नेपाल सरकार र जनताका साथ रहेको र नेपालको स्थानीय आवश्यकताका आधारमा उचित सहयोग गर्न तत्पर रहेको बताएका छन् । विदेशमन्त्री कामिकावाले भूकम्प प्रभावित क्षेत्रको यथाशीघ्र पुनःनिर्माणको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।









































