काठमाण्डौ, 5 डिसेम्बर 2020
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले ट्राफिक व्यवस्थापनलाई डिजिटलाइजेसन बनाउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ। प्रहरी हेडक्वार्टरबाट भर्खरै सरुवा भएर महाशाखामा आउनुभएका एसएसपी भट्टराईले पत्रकारहरुसँग कुराकानी गर्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउन डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो। कुनैपनि सवारीचालक ट्राफिक कारबाहीमा परी जरिबाना तिर्नुपर्ने भएमा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने प्रणालीको विकास भइरहेको पनि उहाँले बताउनुभयो। यसबाट बैंकमा लामो लाइन लाग्नुपर्ने स्थितिको अन्त्य हुने पनि एसएसपी भट्टराईले बताउनुभयो।
ट्राफिक कारबाहीमा परेका व्यक्तिहरुलाई दिइने सचेतना कक्षा कोभिडका कारण स्थगित भएकोमा अहिले अनलाइन बाटै लिने व्यवस्था मिलाइएको पनि बताउनुभयो। अहिले ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने बताउनुभयो।









































