काठमाडौं, 11 अक्टूबर 2021
नेपालीहरुको महान चाड वडा दशैंको पाँचौ दिन सोमबार स्कन्दमाता देवीको पूजा आराधना गरि मनाइएको छ । नवरात्रीको ९ दिनसम्म शक्तिस्वरुपा दुर्गा भवानीका विभिन्न ९ रुपलाई आराधना गर्ने परम्परा अनुसार सोमबार पाँचौ दिन स्कन्दमाताको अर्चना गरिएको हो । सुख, शान्ति तथा मोक्षकी देवी स्कन्दमाताको पूजा आराधना विशुद्ध चक्रमा ध्यान गरेर गर्ने गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंसाहनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको पाइन्छ । यो दिन मातालाई केरा चढाउदा शुभ लाभ हुने मानिन्छ । दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।









































