नयाँ दिल्ली, 7 जुन 2020
भारतको राजधानी दिल्लीका सीमाहरु भोलीदेखि खोलिने भएका छन। भोलीदेखिनै दिल्लीमा मल, रेष्टुरेण्ट र पूजा स्थल पनि खुल्नेछन । मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना महामारी चलिरहेका बेला राष्ट्रीय राजधानीका अस्पतालहरुमा केवल दिल्लीका वासिन्दाहरुको मात्रै उपचार गरिने बताउनुभएको छ ।
पत्रकारहरुलाई जानकारी दिँदै केजरीवालले दिल्लीका अस्पतालहरुमा रोगीहरुको उपचारको मुद्दामा मानिसहरुले राज्य सरकारलाई 7 लाख सुझाव दिएको पनि बताउनुभयो । केजरीवालले राज्य मन्त्रीमण्डलले मानिसहरुको सुझाव र सरकारद्वारा गठित विशेषज्ञ समितिसँग छलफल गरेपछि सो फैसला गरेको बताउनुभयो । इन्द्रप्रस्थ विश्वविद्यालयका कुलपति डाक्टर महेश वर्माको अध्यक्षतामा गठित विशेषज्ञ समितिले आफ्नो रिपोर्टमा दिल्लीलाई यो महीनाको अन्त्यसम्म कोरोना संक्रमित रोगीहरुको उपचारका लागि करीब 15 हजार अतिरिक्त बेडको आवश्यकता पर्ने भनिएको उहाँले बताउनुभयो । समितिले शहरमा स्वास्थ्य सुविधाहरु दिल्लीका वासिन्दाहरुका लागि आरक्षित हुनुपर्ने पनि सिफारिस गरेको छ । समितिका अनुसार यदि सरकार गैर-वासिन्दाहरुलाई अस्पतालमा भर्ना गर्ने अनुमति दिन्छ भने बेडहरु तत्काल भरिनेछन ।
केजरीवालले वरिष्ठ नागरिक र अन्य रोगले ग्रसित रोगीहरुलाई घरमा रहन सुझाव दिएका छन । कोरोना महामारीलाई ध्यानमा राख्दै उनिहरुले विशेष ख्याल राख्नुपर्ने आश्यकता भएको केजरीवालको भनाई छ ।









































