नयाँ दिल्ली, 3 अगस्त, 2020
भारतमा रहेका नेपालीहरुले पनि सोमबार रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व मनाएका छन् । भारतको राजधानी दिल्ली लगायत अन्य राज्यमा बस्दै आएका नेपाली दिदीबहिनीहरुले आफ्ना दाजुभाईको हातमा राखी बाँधेर रक्षा बन्धन मनाएका हुन । यो पर्वमा दिदीबहिनीहरुले हातमा राखी बाँधिदिएपछि दाजुभाईको खुशी, समृद्धि र सफलताको कामना गर्दछन भने त्यसको सट्टा दाजुभाईहरुले दिदीबहिनीको रक्षा गर्ने वचन दिँदै उपहार दिने गर्दछन । दिल्लीमा रहँदै आएका नेपाली समूदायले यस अवसरमा घरमै बसेर विभिन्न परिकारको आनन्द लिएर पर्व मनाएका छन । दिदीबहिनी र दाजुभाईको प्रेमको प्रतिकको रुपमा पनि रहेको आजको दिनमा मानिसहरुले रक्षा बन्धनपछि दिदीबहिनीसँग खिचेका तस्वीरहरु सामाजिक सञ्जालमा समेत साझा गरेका छन।



दिल्लीका विभिन्न नेपाली मन्दिरहरुमा आज जनैपूर्णिमा मनाइएको छ । दिल्लीको कडकडडुमा स्थित पशुपतिनात मन्दीरमा पनि विहान जनैपूर्णिमा मनाईएको मन्दीरका पुजारी यदु शर्माले बताउनुभएको छ ।

उहाँले भगवानको रुद्राअभिषेक, गायत्री मन्त्र जाप गरि जनैलाई शुद्ध गरे भगवानलाई दिएपछि दर्शनार्थीहरुलाई जनै बाँधिएको बताउनुभएको छ । आज श्रावण सोमबार पनि भएकाले दर्शनार्थीहरुको उपस्थिति बढि भएपनि सामाजिक दूरीको ख्याल गरि अनुष्ठान गरिएको उहाँले बताउनुभयो ।









































