दिल्ली, 1 अप्रैल 2022
प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन् । प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादवसहितको प्रतिनिधिमण्डलसहित नयाँदिल्ली ओर्लिएका हुन् । उनी नेपाल एयरलाइन्सको विमानमार्फत दिल्ली आएका हुन् । प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटनराज्यमन्त्री अजय भट्टले इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । देउवाको स्वागतमा भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तव पनि विमानस्थल पुगेका हुन। साथै भारतका लागि भर्खरै नियुक्त भएका नेपालका राजदूत शंकर शर्मा पनि देउवाको स्वागतमा पुगेका छन् ।प्रधानमन्त्री देउवासँग शुक्रबार दिउँसो साढे 4 बजे भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्नेछन् । भ्रमण टोली नयाँदिल्ली चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा बस्नेछ । त्यहीँ विदेशमन्त्री जयशंकरसँगको भेटवार्ता तय भएको हो ।









































