नयाँ दिल्ली, 16 जुन 2020, खुम गुरुङ
भारतको राजधानी दिल्लीको ओखलामा एक नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । धादिङ ज्वालामुखी गाँउपालिका वडा नम्बर 2 मैदी मुजकोटका स्थायी वासिन्दा 54 वर्षीय गणेश श्रेष्ठको शनिबार निधन भएको हो । उनको हिजो सोमबार पंजाबीबागस्थित शमसान घाटमा अन्तेयष्टी गरिएको छ । जानकारीका अनुसार श्रेष्ठ ओखला एस -1 युनाइटेड प्याकेजिङ फेस -2 मा काम गर्दै आएका थिए । उनलाई गत 8 जुनदेखि हल्का ज्वरो आइरहेको थियो । उनले नजिकैको मेडिकलबाट ज्वरोको औषधी लिएर सेवन गरिरहेका थिए । तर उनको स्वास्थ्य अवस्था बिग्रिएपछि 12 जुनका दिन उनलाई सफदरजंग अस्पतालमा भर्ना गरिएको थियो । 13 जुनका दिन उनको उपचारकै क्रममा निधन भएको हो । त्यसपछि धादिङ समाजका मनु श्रेष्ठको रोहवरमा मृतकका आफन्त गरि 5 जनाको उपस्थितिमा अन्तिम संस्कार गरिएको धादिङ समाजका संयोजक अर्जुन धरेलले जानकारी दिनु भएको छ । जानकारीका अनुसार अस्पतालले एउटै एम्बुलेन्समा 6 वटा शवलाई शमसानघाट पुर्याएर आफन्तको उपस्थितिमा अन्तिम संस्कार गरिएको थियो । अर्कोतर्फ मृतक गणेश श्रेष्ठले काम गर्ने कम्पनीले मृतक परिवारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेको बुझिएको छ । यसअघि दिल्लीको पहाडगंजमा पनि झापाका ज्ञानबहादुर बस्नेतको कोरोना संक्रमणका कारण गत 7 जुनमा मृत्यु भएको थियो ।









































