काठमाडौं, 13 फरवरी 2023
व्यवसायिक रुपमा धेरै कमाइ गर्ने फिल्म ‘कबड्डी ४’ प्रदर्शन गर्दै चलचित्र विकास बोर्डले आयोजना गरेको नेपाल फिल्म महोत्सव यूएईको आर्थिक सहर दुबईमा सुरु भएको छ । यूएईको समयानुसार आइतबार राति चर्चित बलिउड घराना राजश्री प्रोडक्सनको मल्टिप्लेक्स चेन स्टार सिनेमाजमा फिल्म स्क्रिनिङ भयो । उद्घाटन समारोहमा नेपाली प्रदर्शक, निर्माता, कलाकार, सञ्चारकर्मी, गैरआवासीय नेपालीहरु सहभागी रहे । नेपाल सिनेमा फेस्टको प्रचारप्रसारले झकिझकाउ पारिएको मल्टिप्लेक्समा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, कलाकार अनमोल केसी, उपासना सिंह ठकुरी, शिव श्रेष्ठ, निर्देशक भूषण दाहाल, रामबाबु गुरुङदेखि दुबईस्थित व्यवसायी र एनआरएनए प्रतिनिधिहरु उपस्थित रहेका थिए । बोर्ड अध्यक्ष केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने ढोका दुबईबाट खुला भएको बताएका छन् ।











































