कैलाली, 12 फरवरी 2020/ हिम शाह
धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वड र क्यानडा सरकारका प्रतिनिधि जेनेट गडले बुधवार धनगढी उप–महानगरपालिका १७ मा स्थापना गरिएको समुदाय सूचना प्रविधि केन्द्रको संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ। धनगढी उप–महानगरपालिकाले स्थापना गरेको समुदाय सूचना प्रविधि केन्द्रको नगर प्रमुख वड र क्यानडा सरकारका प्रतिनिधि गडले एक कार्यक्रमका बीच संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो। धनगढी उप–महानगरपालिकाको वडा नं १५ र धनगढी उप–महानगरपालिकाको कार्यालयमा क्यानडा सरकारको सहयोगमा संचालित सेसी परियोजना अन्तरगत सूचना प्राविधि केन्द्रहरु संचालनमा छन्।
नगर प्रमुख वडले उप–महानगरपालिकाले नगरवासीको सहजताको लागि सबै वडामा सूचना प्रविधि केन्द्र विस्तार गर्दै लैजाने बताउनुभयो। उहाँले उप–महानगरपालिकाका सबै गतिविधिमा नागरिक सहभागिता खोज्नु र शुसासनलाई प्रवद्र्धन गर्नु प्रमुख उद्देश्य रहेको बताउनुभयो। सूचना प्रविधि केन्द्रमा स्थानीयले धनगढी उपमहानगरपालिकामा सुरु गरेको पूर्वाधार व्यवस्थापन प्रणाली (आईएमएस) को प्रयोग गर्न पाउने व्यवस्था गरिएको बताउँदै नगरप्रमुख वडले सहयोगका लागि एक जना स्वयंसेवक पनि खटाउने व्यवस्था गरिएको जानकारी दिनुभयो। मेयर वडले यस प्रणालीबाट उपमहानगरपालिकामा सञ्चालन हुने योजनाको विस्तृत जानकारी, गुणस्तर, योजनाको प्रभावकारिता, भौतिक र वित्तीय प्रगतिबारे ‘मोवाईल एप्स’मार्फत जानकारी पठाउन सकिने बताउनुभयो। उहाँले यस एप्सको प्रयोग गर्न सम्पूर्ण नगरवासीहरूमा अनुरोध पनि गर्नुभयो। यस प्रणालीले सुशासन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको बताउँदै नगरप्रमुख वडले योजनाको भौतिक, आर्थिक प्रगतिका साथै सबैले कमेन्ट गर्न पाउने व्यवस्था समेत गरिएकाले नागरिकहरूबाट समेत निगरानी गर्न सकिने तर्क गर्नुभयो।
क्यानडा सरकारका प्रतिनिधि जेनेट गडले धनगढी उप–महानगरपालिकाले संचालन गरेका नगरपालिकामै रहेको र वडा नं १५ मा रहेको सूचना प्रविधी केन्द्रको पनि अनुगमन गर्नका साथै यसको प्रभावकारीता बारे जानकारी लिनुभएको थियो। उहाँले धनगढी उप-महानगरपालिकाको शुसासन अभिवृद्धिमा सूचना प्रविधि केन्दले सहयोग पुर्याएको आफुले पाएको बताउनुभयो।









































