दार्चुला, 31 मार्च/ हिम शाह
सिमावर्ती क्षेत्र धारचुलाको पुल क्षेत्रमा अलपत्र परेका नेपालीको व्यवस्थापन भारतीय पक्षले गर्ने भएको छ। नेपालमा रहेका भारतीयहरूको नेपाल र भारतमा रहेका नेपालीहरूको भारत सरकारले व्यवस्था गर्ने सहमतिअनुसार धारचुला क्षेत्रमा रहेका करिब पाँच सय नेपालीहरूलाई भारतीय पक्षले क्वारेन्टाइनमा राख्ने भएको हो।
धारचुला क्षेत्रका उपजिल्ला अधिकारी अनिलकुमार सुक्लाले धारचुला क्षेत्रमा चार र जौलजिबीमा एक स्थान गरी नेपालीलाई पाँच स्थानमा क्वारेन्टाईनमा राखिएको बताउनुभयो। नेपाल सरकारका प्रतिनिधिलाई पटक-पटक नेपालीलाई आफ्नो देश फिर्ता गर्न आग्रह गर्दा पनि नसुनेपछि भारतमै व्यवस्थापन गरिएको उहाँले बताउनुभयो।
यता दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भन्नुभयो, ‘लकडाउन भनेको जो जहाँ छ, त्यही बस्ने हो।’ यी नागरिकहरू लकडाउनको अर्थ नबुझेर वा पुल खुल्दै छ भन्ने हल्लाका पछाडि लागेर धारचुलामा जम्मा भएका उहाँले बताउनुभयो। भारतीय क्षेत्रमा मजदुरी गर्न गएका नेपालीहरूले पनि जहाँ छन्, त्यही बस्नु पर्ने र उनीहरूको व्यवस्था भारत सरकारले गर्ने प्रजिअ पौडेलले बताउनुुुभयो।
सोमबार दिउँसो बैतडी डिलाशैनीका इन्द्रसिह खाती र धनबहादुर धामी तथा दार्चुला मार्मा गाउँपालिका 3 का रमेश बिस्ट महाकाली तरेर दार्चुला प्रवेश गरेका थिए। उनीहरूलाई सम्बन्धित पालिकाको जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो।









































