काठमाडौं, 19 अक्तूबर 2021
श्री सीताराम नाम संकर्तिन एवम् रुद्र महायज्ञ समितिले कोरोना महामारीको शान्ति र विश्व कल्याणको लागि यही कार्तिक ४ गतेदेखि कार्तिक १३ गतेसम्म पशुपतिनाथ मन्दिर प्रागंणमा ९ दिवसीय रामनाम संकीर्तन तथा रुद्र महायज्ञ आयोजना गर्ने भएको छ । मूल आयोजक समितिले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त महायज्ञ गर्न लागिएको र त्यसको सम्पूर्ण तयारीसमेत पूरा भएको जानकारी दिएको हो । समितिका अनुसार यही कात्तिक ३ कलश यात्राको आयोजना गरिएको छ । श्री श्री १०८ श्री स्वामी जगत नन्दन दास जी महाराज (पगला बाबा) को संकल्पमा उक्त महायज्ञ हुन लागेको हो । कार्यक्रममा बोल्दै श्री श्री १०८ श्री स्वामी जगत नन्दन दास जी महाराज (पगला बाबा) ले विश्वका सबैलाई शान्ति राख्नको लागि महोत्सवको आयोजना गरेको जानकारी दिए । बाबाले विश्वभरि अहिले अशान्ति हुँदै गएको भन्दै त्यसलाई रोक्नको लागि आफूहरुले महायज्ञको आयोजना गरेको बताउनुभयो । उहाले महायज्ञले विश्वभर प्रकृतिमा भइरहेको प्रदुषण रोक्ने जिकिर गर्नुभयो । त्यस्तै, मूल समारोह समितिका उपाध्यक्ष कामेश्वर झाले विश्वभर कोरोना महामारीको अन्त्य गर्नलाई महायज्ञको आयोजना गरेको बताउनुभयो । उपाध्यक्ष झाले कात्तिक ३ गते कलश यात्रा, ४ गते यज्ञ शुभारम्भ भएर कार्तिक १३ गतेसम्म महायज्ञ चलिरहने जानकारी दिनुभयो ।









































