काठमाडौं, 29 मई 2023
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी रहेको बताएका छन् । सोमवार सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वाभाविक रहेको भन्दै महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनुपर्ने बताए । यसो भए मात्रै मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिने धारणा उनको थियो ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘लोकतन्त्रमा विभिन्न धारणा र विचार हुनु स्वभाविक हो । तर महत्वपूर्ण राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल र आम नेपाली जनताको समान र अविचलित धारणा हुनसके मात्रै मुलुकलाई अघि बढाउन र राष्ट्रिय एकता जगलाई अझ बलियो बनाउन सकिन्छ । संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रुपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुँदैन ।’
उनले संविधान र कानूनमा रहेका सम्पूर्ण अधिकारको प्रयोग जनताले सहज रुपमा गर्नसक्ने अवस्था नभएसम्म गणतन्त्र दिगो हुन नसक्ने पनि बताए । आम जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने भन्दै जनताको जीवनस्तरलाई यथाशीघ्र माथि उकास्ने प्रतिवद्धताका साथ कर्म क्षेत्रमा जुट्नुपर्ने खाँचो रहेको उनले बताए । उनले गणतन्त्र र लोकतन्त्रप्रति वितृष्ण जगाउने काम भइरहेको भन्दै यी प्रयासहरु सफल नहुने दाबी पनि गरे । साथै, लोकतन्त्रको विकल्प अझ सुदृढ लोकतन्त्र नै हुने उनको भनाइ थियो ।









































