काठमाण्डौँ, 29 जनवरी 2020
अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमलाई दिएको कर्जाको जोखिम नरहेको बताउनुभएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा अर्थ मन्त्री खतिवडाले नागरिक लगानी कोषले निगमको वाइडबडी खरिदमा गरेको लगानीको भुक्तानीको प्रकृया सुरु भइसकेकोले जोखिम कम हुँदै गएको बताउनुभएको हो। ‘नागरिक लगानी कोष ऐन २०४७’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका क्रममा उहाँले निगमले समयमै ऋण तिरिसक्ने विश्वास सरकारले गरेको बताउनुभयो।
बैठकमा विधेयकका विभिन्न दफामा संशोधन प्रस्ताव राख्नुभएका सांसद दिव्यमणि राजभण्डारीले नागरिक लगानी कोषले नेपाल वायुसेवा निगमको वाइडबडी खरिदमा गरेको लगानी डुब्न लागेकाले ऐन मार्फत त्यस प्रकारका लगानी गर्न नदिने व्यवस्था गर्नुपर्ने बताउनुभयो।
बैठकमा सांसद सुरेन्द्रप्रसाद पाण्डेले संसदबाट पास गरेर नेपाल वायुसेवा निगमलाई सरकारको ग्यारेन्टीमा लगानी कोषबाट कार्जा उपलब्ध गराएकोले निगमले भुक्तानी गर्न नसकेपनि कोषलाई कुनै नोक्सानी नहुने बताउनुभयो।
त्यस्तै समितिको बैठकले ‘नागरिक लगानी कोष ऐन २०४७’ लाई संशोधन गर्न बनेको विधेयकमा समान्य संशोधन सहित छलफल टुंग्याएको छ।
समिति सभापति कृष्णप्रसाद दाहालले अर्थ समितिको अर्को वैठकमा विधेयकमा संशोधन भएका विषयलाई मिलाएर अन्तिम रुप दिने बताउनुभयो।









































