काठमाडौं, 2 मई 2023
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति नभएको वर्तमान सरकारले देशलाई अस्थिरतातर्फ लगेको टिप्पणी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित मिशन ग्रासरुट अभियान अन्तर्गत सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई समाप्त गर्न खोजिएको आरोप लगाएका हुन् । उनले जनतालाई एमालेको विरुद्ध उचालेको दावी समेत गरे ।
उनले भने, ‘देशमा राजनीतिक स्थिरताको स्थिति छैन । अस्थिरता तर्फ देश गएको छ । जानी बुझिकन पनि हामीमाथि केही कुराहरु जनतालाई अलमलाएर थोपरिए । जुन कुरालाई हामीले स्वीकार्न बाध्य भयौं । नीति नभएका चार तिर फर्किएका तत्वहरु मिलेर सरकार जनाउनु पर्ने अवस्था छ । त्यो भनेको देश नीति हिनतामा जाने नै भयो ।’
अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले ५१ प्रतिशत सिट जित्ने दाबी समेत गरे। एमालेसँग प्रतिस्पर्धा गर्नसक्ने कुनै पार्टी नभएको उनले दाबी गरे ।
‘हामी सुद्रृढ भएको ठाउँमा पनि हारियो, के कारणले भन्ने समीक्षा गर्नुपर्छ । आगामी निर्वाचनमा ५१ प्रतिशत भन्दा बढी ल्याउनु पर्छ । एमाले योसँग मिल्ने कि त्यो त्यान्द्रो समाउने कि ? त्यसो होइन । एकल बहुमत ल्याउन सक्ने पार्टी बनाउछौ’ ओलीले भने ।
अध्यक्ष ओलीले वर्तमान सरकारले निकै नै लज्जास्पद काम गरेको दावी गर्दै आफ्नो भ्रष्टाचार छोप्न एमालेलाई भ्रष्टचारी बनाएको आरोप लगाए । आफ्नो बल र बुतामा एमाले निरन्तर अगाडि बढिरहने पनि उनको भनाइ छ ।









































