काठमाण्डौ, 14 अगस्त 2020
सत्तरुढ दल नेकपाभित्र लामो समयदेखि जारी विवाद सहमतिमा टुंगिने दिशामा अघि बढेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रवार बालुवाटारमा भएको वार्तामा जारी विवाद सहमतिमा टुंग्याउने निर्णय गरेको हो । दुवै अध्यक्ष एक कार्यदल गठन गरेर त्यसबाट सुझाव लिने र त्यही सुझावका आधारमा विवाद अन्त्य गर्न सहमत भएका छन् । बैठकले पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलका सदस्यहरूमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे छन् । उक्त कार्यदललाई यथाशीघ्र सुझाव पेश गर्न म्याण्डेट दिइएको छ । आजको विकसित घटनाले नेकपाको विवाद समाधानतर्फ फर्केको स्पष्ट संकेत गरेको र दुई अध्यक्ष सहमतिका साथ अघि बढ्न राजी हुनु र कार्यदल समेत गठन हुनुले अब नेकपाको विवाद हल हुने दिशातिर अघि बढेको जनाईएको छ । ।
स्रोतका अनुसार आजको बैठकमा दुवै अध्यक्ष पार्टी एकतालाई थप मजबुत बनाएर अघि लैजान सहमत भएका छन् ।
यसअघि प्रधानमन्त्री ओलीले बुधवार एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नेकपा विवाद ५ दिनभित्र समाधान हुने संकेत गरेका थिए ।
असार १० गते शुरू भएको स्थायी कमिटी बैठक विवादका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।









































