काठमाडौं, 10 मार्च 2022
नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलिमाथि प्रश्न उठेको छ । बिहीबार काठमाडौंमा जारी समाजवादीको बैठकमा समूहगत छलफलको निष्कर्ष राख्ने क्रममा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलि र आचरणमा प्रश्न उठेको हो । पार्टीको निर्देशन र आचारसंहिता बिपरित मन्त्रीहरुले काम गर्ने गरेको र पार्टीसंगको तालमेल मिल्न नसकेको लगाएतका प्रश्न उठेको समाजवादीका नेता गंगालाल तुलाधरले जानकारी दिनुभयो । उहाले अव पार्टीभित्र एमसीसीको विवाद सकिएको र सम्मानीत नेता झलनाथ खनालले पनि अन्य सन्दर्भमा छलफल गर्न उपयुक्त हुने बताउनुभएको जानकारी दिनुभयो । त्यस्तै स्थानीय निर्वाचनका लागि र प्रतिगामी तत्वहरुलाई प्ररास्त गर्नका लागि पनि गठबन्धनलाई कायमै राखनुपर्ने सुझाव आएको तुलाधरले बताउनुभयो । यसअघि पार्टी अध्यक्ष माधवकुमार नेपालले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि नौ वटा समूह बनाएर केन्द्रीय सदस्यहरुले छलफल गरेका थिए ।









































