काठमाण्डौ, 5 जनवरी 2021
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) असफल भएको बताउनुभएको छ । मंगलबार जनता समाजवादी पार्टी, नेपालले गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को ठुलो बहुमत हुँदाहुँदै पनि राजनीतिक स्थिरता दिन नसकेकोले नेकपा र नेकपाको सरकार नै असफल भएको बताउनुभयो । सत्ताधारीहरुले आफ्नो अधिकार सुरक्षित राख्नको निम्ति मात्रै कदम उठाउने गरेको भन्दै ठाकुरले सरकारले अहिले चालेको असंवैधानिक कदम पनि आफुलाई सुरक्षित राख्न गरिएको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा विघटन गरेर संविधानलाई नै मरेतुल्य तुल्याएको टिप्पणी गर्नुभयो । फेरीफेरी पनि सरकारले यस्ता स्वेच्छाचारी कदम चाल्ने हुन कि भन्ने डर सिर्जना गरिदिएको उहाँको भनाई छ । असंवैधानिक कदमका विरुद्ध राजनीतिक शक्तिको ध्रुविकरणको आवश्यकता रहेको उहाँले बताउनुभयो । गैर संवैधानिक हिसाबले चालेको कदमले संसदको विघटन हुन नसक्ने भन्दै उहाँले संसदको काम कारबाहीको जिम्मेवारी सभामुखको काँधमा रहेको बताउनुभयो ।
जनता समाजवादी पार्टी, नेपालले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमका विरुद्ध विभिन्न विरोधका कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।









































