चण्डीगढ, 15 अप्रेल
नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर क्षेत्र भारतअन्तर्गत चण्डीगढ शाखाले चण्डीगढका विभिन्न स्थानहरूमा नेपाली परिवारहरूलाई राहत वितरण गरेको छ। नेजस भारतका अध्यक्ष बालकृष्ण पाण्डेको विशेष पहल साथै नेजस पश्चिमोत्तर क्षेत्र भारतअन्तर्गत चण्डीगढ शाखा अध्यक्ष शनी शर्माको नेतृत्वमा चण्डीगढको सेक्टर 45, 25 र धनासमा बसोबास गर्ने नेपाली परिवारहरूलाई अत्यावश्यक खाद्य सामग्रीहरू वितरण गरिएको हो। यस राहत वितरण कार्यमा सचिव रेशम राना, उपाध्यक्ष गमर पुन, धनबहादुर, बुद्धिनाथ ढकाल र महिला समिति अध्यक्ष देवी पौडेल, उपाध्यक्ष लक्ष्मी शर्मा, सचिव सृजना पुन, क्षेत्रीय मुख्य सल्लाहकार राजू चन्द र ढाका राम पौडेल साथै सम्पूर्ण कार्यकर्ताहरुको विशेष सहयोग र योगदान रहेको थियो।
लकडाउनको सुरूआत देखिनै समस्यामा परेका नेपालीहरूलाई राहत वितरण गर्दै आएको नेजस पश्चिमोत्तर क्षेत्र भारतअन्तर्गत चण्डीगढ शाखाले हिजो चण्डीगढस्थित सेक्टर 45 (बुडैल) का 20 परिवारलाई 20 दिनलाई पुग्ने राशन वितरण गरेको थियो।
वैश्विक महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-19) प्रकोप नियन्त्रण र रोकथाम गर्न भारत पूर्ण रूपमा लकडाउन छ। लकडाउनसँगै भारतभरी रहेको नेपाली मजदुरहरूमा खाद्यान्नको संकट छाएको छ। कुनैपनि नेपालीले कमसेकम भोकमरीका कारण ज्यान गुमाउन नपरोस् भनेर ट्राई सिटीमा बसोबास गर्ने नेपालीहरूलाई राहत सामग्री वितरण गरिएको अध्यक्ष शनी शर्माले बताउनुभयो।









































