गोबिन्द पोख्रेल, नयाँ दिल्ली, नेपाली काँग्रेस आवद्ध भारतस्तरीय संगठन नेपाली जन सम्पर्क समिति-भारत, राष्ट्रियता, प्रजातन्त्र र समाजबादका प्रवर्तक महामानव वि.पि. कोईराला ज्यूबाट सन् १३ जुन १९७६ (२०३३) मा महाराष्ट्रको मूम्बइ मुलूण्डमा स्थापना भएको हो । यस संगठनलाइ छोटकरीमा नेजस भारत भन्ने गरिन्छ । वर्तमान समयमा यस समितिको अध्यक्ष पदमा बालकृष्ण पाण्डे, नयाँ दिल्लीबाट र महामन्त्री पदमा नारायण भुसाल पन्जाबबाट नेतृत्व तहमा कार्यरत छन । पाण्डे नेका केन्द्रिय समितिको आमन्त्रित सदस्यको रुपमा कार्यरत छन। उनले भर्खरै प्रदेश नम्बर ५ अर्थात लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको टिकेट पाएका छन ।
नेजसको भारतमा संगठनात्मक संरचना ५–५ राज्य समितिहरुबाट ६ वटा क्षेत्रीय समितिको रुपमा विभाजीत रहेको छ र एउटा अति पूर्वि भारत क्षेत्रीय समितिको रुपमा आसाम कार्यालय रहने गरी तदर्थ समितिको समेत गठन भएको छ ।
पूर्वि भारत क्षेत्रीय कार्यालय कलकत्तामा, उत्तर भारत क्षेत्रीय कार्यालय तथा केन्द्रिय सम्पर्क कार्यालय दिल्लीमा, उत्तर पश्चिम भारत क्षेत्रीय कार्यालय चण्डिगढमा, पश्चिम भारत क्षेत्रीय कार्यालय तथा केन्द्रिय कार्यालय मूम्बइमा र दक्षिण भारत क्षेत्रीय कार्यालय चेन्नैइ तथा सम्पर्क कार्यालय हैदरावादमा रहेको छ । जनसम्पर्क समिति विशेष गरी तत्कालिन समयमा मूम्बईमा मात्र देखिएको थियो । पछि स्व. राम बहादर पौडेल नेतृत्वको कार्य समितिले यसलाइ विस्तार गर्ने क्रममा पहिलो पटक दिल्लीमा कार्यरत रहेको नेपाली प्रदेशी काँग्रेस सेवा संघलाइ समेटेको थियो । र क्रमिक रुपमा यसले भारतभरी नै विभिन्न नामले खोलिएका काँग्रेस सम्बद्ध संगठनहरुलाइ जनसम्पर्क समितिमा विलय गराएर आज भारतमा मात्र नभै विश्वभरी नै जनसम्पर्क समितिलाइ विस्तार गरेको छ । महामानव वि. पि. कोइरालाले मेलमिलापको निति अवलम्बन गरी नेपाल फर्कदा भारतमा रहेका नेपालीहरुविच संगठनात्मक काम गर्नका लागी यसको स्थापना गरेको कुरा काँग्रेसको इतिहासले स्पष्ट रुपमा देखाएको पाइन्छ ।
भारतभरी विभिन्न स–साना प्रवासी नेपाली संघ सँस्था र भजन मण्डलीहरुको लामबद्ध रुपमा विकास हुन थालेको समयमा वनारसको विशेस्वरगंजमा ७ नोभेम्बर १९७९ मा अखिल भारत नेपाली एकता समाजको गठन भएको थियो । सँस्थापक सभापतिको रुपमा गोविन्दसिंह थापा रहेको बुझिएको छ । सेप्टेम्बर ५, ६ र ७ तारिख १९८२ मा अखिल भारतस्तरिय प्रथम सम्मेलनको उद्घाटन नेपाल कम्युनिष्ट पार्टिका महामन्त्री कामरेड मोहन विक्रम सिंहज्यूले गरेको खुलासा भएको हो ।
यो सम्मेलनबाट पनि नेतृत्व तहमा थापाले नै काम गरेको देखिन्छ । गोबिन्द थापा तेस्रो सम्मेलनसम्म सभापति नै रहेर काम गरेका थिए । चौथो सम्मेलनले लिलानाथ कुसुम, पाचौ सम्मेलनले गिरधारीलाल न्यौपाने, छैठौमा दुर्गाबहादुर के. सी. र अहिले सातौ सम्मेलनले मित्रलाल शर्मालाइ सभापतिमा निर्वाचित गरेको थियो । वहाँको देहान्त भएकोले अहिले उपाध्यक्षमा रहेको कपिल खनालले कार्यभार सम्हालेको बुझिएको छ । अहिले चयन गरिएको समितिमा ३३ पूर्ण तथा १० वैकल्पिक र २२ सल्लाहकार गरी ६५ सदस्सीय केन्द्रिय समिति रहेको छ । राष्ट्रिय जनमोर्चा, नेपालको जनवर्गिय संगठनको रुपमा रहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सञ्जाल भारतभरी नै रहेको छ ।
नेकपा एमाले पार्टिसँग सम्बन्धित रहेको जनवर्गिय संगठन हो, प्रवासी नेपाली संघ भारत । यसको सञ्जाल पनि भारतभरी नै रहेको बुझिएको छ । वर्तमान समयमा केन्द्रिय अध्यक्षको रुपमा नेपाल गुल्मि जिल्ला हुँगाका लोकनाथ भण्डारी अध्यक्ष पदमा र डम्बर रावल महासचिव पदमा कार्यरत रहेकाछन । ५ मइ १९६६ मा स्व. एकदेव आलेको अध्यक्षतामा गोरखपूरमा संघको स्थापना भएको बुझिएको छ । अध्यक्ष सहित ३१ सदस्सीय केन्द्रिय समिति रहेको यो संगठनमा १२ वटा राज्य समितिहरु, १० वटा नगर समितिहरु र १० जना सहित बनाइएका प्रारम्भिक समितिहरु ५०० भन्दा बढि सक्रिय भुमिकाका साथ कार्यरत रहेको खुलासा भएको छ ।
वर्तमान समयमा नेकपा माओवादी केन्द्र सँग सम्बन्ति रहेको अखिल भारत नेपाली एकता मंचको स्थापना ७ नोभेम्बर १९७९ मा बनारसमा केही प्रगतिशील बौद्धिक अग्रजहरुको अगुवाईमा स्थापना भएको बुझिएको छ ।
यो संगठनको वास्तबिक वस्तुस्थितिलाइ नियाल्ने हो भने, बडो गजबको कुरा यहाँनेर जोड्न मन लाग्यो । वर्तमान नेपाली राजनैतिक अवस्थामा केन्द्रिय तहमा रहेका शिर्षस्थ नेताहरु प्रचण्ड, टोप बहादुर रायमाझी, महरा लगायत अन्य माओवादी नेताहरु लामो राजनैतिक यात्रा भारतका दिल्ली, बम्बई र कलकत्तातिर एकता समाजमै आबद्ध भएका मजदुरहरुको विचमा व्यतित भएको थियो । नेपालमा शुरु भएको माओवादी आन्दोलनका कारण सन् २००२ मा यसलाइ भारतीय कानून पोटाको मातहत प्रतिबन्ध लगाइएको केहि समयपछि एकता समाजका तत्कालिन वरिष्ठ प्रवासी नेता लक्ष्मण पन्तको नेतृत्वमा नेपाली जनअधिकार सुरक्षा समितिको गठन भएको थियो । १६ फरवरी २००९ मा जनअधिकार सुरक्षा समिति र नेपाली लोकतान्त्रिक मंचका विच एकिकरण भएको थियो ।
यो एकिकरणले नै अखिल भारत नेपाली एकता मंचको जन्म भएको थियो । मंचको जन्मकालमा नेतृत्व तहमा पुन: पन्त नै रहेर काम गरेको बुझिएको छ । वर्तमानमा भने, अध्यक्षमा इश्वरी भण्डारी तथा महासचिवमा चक्र ब. बलाटी रहेको अवस्था छ । र पन्त नेकपा –(माओवादी केन्द्र) केन्द्रिय सचिवालय सदस्य तथा अन्र्तराष्ट्रिय विभाग सदस्य र अभानेएकता मंचको केन्द्रिय सल्लाहकारको रुपमा कार्यरत भएका पन्त अहिले पछिल्लो नेकपा एकिकरणपछी केन्द्रिय सदस्यको रुपमा प्रवास समन्वय कमिटिको सह इन्चार्जको रुपमा कार्यरत हुनुहुन्छ । उता भारतमा एकिकण प्रक्रिया टुंगो लगाउन बाँकी रहदा एकता मंच र प्रनेसंघले विभिन्न कार्यक्रमहरुमा अलग अलग प्रतिनिधित्व गरिरहेको पाईन्छ ।
नेपालमा नयाँ शक्ति अभियानको भारत प्रवासस्थित रहेको अन्र्तराष्ट्रिय नेपाली समाज, भारत को गठन १२ डिसेम्बर, २०१५ का दिन जम्मा ६१ जनाको भेलाले मोहन राउतको अध्यक्षतामा प्रथम केन्द्रिय समितिको गठन गरेको बुझिएको छ । यसलाई पूर्णता दिन ६ डिसेम्बर, २०१६ का दिन नेपालबाट हिसिला यमी र शंकर भण्डारीको उपस्थिति रहेको थियो । आफ्ना कार्यकर्ताहरुको वृहद भेला सहित सोही दिन २५ सदस्सीय दिल्ली फरिदावाद संयुक्त राज्य समितिको गठन गरेको समाजले अहिले लगभग भारतभरी संयोजक सहितको कार्यसमिति गठन प्रक्रियामा जोडतोडका साथ लागीपरेको बुझिएको छ ।
नेकपा माओवादीको जनवर्गिय संगठनको रुपमा रहेको प्रवासी नेपाली जनसमाज, भारतको प्रथम अधिवेशन राजधानी दिल्लीको निकटतम सहर फरिदावादमा सम्पन्न भएको थियो । उक्त सम्मेलनले अध्यक्षमा आजाद सेन थापा र महासचिवमा मोति गौतम तथा कोषाध्यक्षमा भिमकान्त घिमिरे सहित ५५ सदस्सीय केन्द्रिय समिति चयन गरेको थियो । सेप्टेम्बर १८ र १९, २०१६ मा सम्पन्न सम्मेलनको खड्ग बहादुर बि. क. प्रकाण्डले उद्घाटन गरेको थिए ।
नेपालमा नगन्य रुपमा रहेका धेरै दलहरु रहेको अवस्था छ । तर प्रतिष्ठित राजनैतिक दलहरुमध्येको एउटा दल राप्रपा नेपाल पनि हो । विडम्बना राप्रपा नेपाल सम्बद्ध जनवर्गिय संगठन भने नेपालको छिमेकी मुलुक भारतमा कृयाशिल थिएन । भर्खरै मात्र दिल्लीमा केही मानिसहरुको भेलाले राप्रपा सहायक महामन्त्री राजाराम बर्तौला र राप्रपा केन्द्रिय सदस्य एवं विदेश विभाग प्रमुख विजय खडकाको उपस्थितिमा नेपाली युनियन नामक संस्थाको गठन गरि संगठनात्मक प्रक्रिया अघि बढाएको बुझिएको छ । मधेशवादी दलहरुको रुपमा पनि अहिले धेरै राजनैतिक दलहरु देखा परेको अवस्था नेपालमा विद्यमान त छ तर मधेशसँग सम्बन्धित राजनैतिक दलको पनि जनवर्गिय संगठनको रुपमा कुनै समूह कृयाशिल छैन, भन्दा अतियुक्ति नै देखिन्छ ।
युनाइटेड मधेशी मोर्चाको नाममा जेएनयू, दिल्ली विश्व विद्यालय र सिए अध्ययनरत केही विधार्थीहरुले बेला वखत जन्तर मन्तरमा काला झण्डा देखाउने र प्रदर्शन गर्ने त गर्छन । तिनिहरुको समूह नगन्य अवस्थामा छ । धेरै जनवर्गिय संगठनहरु यहाँ कार्यरत भएपनि मधेशीहरुलाई सबैले समेट्न सकेको अवस्था छैन । केवल नेपाली जनसम्पर्क समितिमा मात्र मधेशका धेरै कार्यकर्ता कृयाशील रहेका छन । दिल्ली नजिकै रहेको गाजियावादमा सम्पर्क समितिको एउटा शाखा नै मधेशीहरुको समूहबाट मात्रै बनेको छ । जहाँ सदस्य संख्या नै लगभग ५०० बढिले माथी पुगेको छ । छिठफुट अवस्थामा दिल्लीमा कहिलेकाँही देखा पर्ने गरेको शिवसेना नेपालका कार्यकर्ता पनि नगन्य नै छन । महेन्द्र के. सी. नेतृत्वको शिवसेना दिल्ली राज्यको शिवसेनामा नेपाली प्रकोष्ठको रुपमा कृयाशील रहेको पाइन्छ ।
नेपालमा हिन्दुराष्ट्र कायम होस भन्ने कुरालाइ थाती राखेर देखा परेको नेपाल हिन्दुराष्ट्र पुर्नस्थापना मंच, भारत केहि समय अघि नेपालमा कृयाशील रहेको बुझिएको छ । पुर्नस्थापना मंचले राजा विनाको हिन्दुराष्ट्रको लागी काम गर्ने सोंच बनाएर कृयाशील रहेको थियो । अहिले आएर हिन्दुराष्ट्रको विषयमा अभियान चलाउने नेतृत्व तह राजासँग घाटी जोडेर काम गर्न चाहेको बुझेपछि यो अभियान अघि नबढेको बुझिएको छ ।
यस वाहेक भारतभरी विभिन्न गैर राजनैतिक सामाजिक संगठनहरुको थुप्रो भेटिन्छ । ती र त्यस्ता खाले संगठनहरु आ–आफ्नो समूह, आ–आफ्नो गाउघर, छर छिमेकबाट बन्ने गरेको देखिन्छ । ती र त्यस्ता समूहबाट कृयाशील रहेर काम गर्ने संघ सँस्थाहरुले नेपाली संस्कृति विशेषका लागी काम गरेको पाइन्छ । यी र यस्ता संगठनहरुले बेला बेलामा नेपालका राष्ट्रिय अन्र्तराष्ट्रिय रुपमै ख्यातिप्राप्त कलाकारहरुलाइ प्रवासमा उपस्थित गराएर नेपाली समूदायलाइ भरपुर मनोरञ्जनात्मक नेपाली साँस्कृतिक कार्यक्रम गर्ने गरेका छन ।
प्रवासी राजनैतिक बस्तुस्थिति विशेषलाइ समेट्ने प्रयास गरेका लेखक : गोबिन्द पोख्रेल, नेपाल पत्रकार महासंघ, भारत शाखाका सल्लाहकार एवं दैनिक नेपाल आवाजद्वारा संचालित नेशनल लाइभ टिभीका संयोजक हुन् ।









































