काठमाडौं, 31 जुलाई 2020
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट एकैदिनमा ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका तीन जनाको गण्डक अस्थायी कोरोना अस्पताल र एकजनाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा मृत्यु भएको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका—११ का ५६ वर्षिय पुरुषको साउन १५ गते मृत्यु भएको हो। मुटुको रोगी ती पुरुषको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। साउन ६ गते कोरोना पुष्टि भएपछि उनलाई ७ गते गण्डक अस्थायी कोरोना अस्पताल भर्ना गरिएको थियो। यस्तै वीरगञ्ज महानगरपालिका वडा नम्बर—१६ का ३५ वर्षका पुरुषको साउन १५ गते नै गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। साउन ५ गते नीजि क्लिनिक हुँदै तराई अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि गण्डक अस्पताल भर्ना भएका थिए। १३ गते अस्पताल भर्ना भएका उनको नमुना संकलन गर्दा १५ गते नै कोरोना पुष्टि भएको थियो। यस्तै वीरगञ्ज—२ का ६५ वर्षिय अर्का पुरुषको पनि साउन १५ मा कोरोनाका कारण मृत्यु भएको प्रवक्ता डा. गौतमले बताउनुभयो। उनको मृत्यु पछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो।
यस्तै वीरगञ्ज ११ स्थायी घर भइ ललितपुरको थसिखेल ५ बस्ने महिलाको पाटन अस्पताल ललितपुरमा उपचारका क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताउनुभयो। मधुमेहका विरामी ति महिला साउन ६ गते अस्पताल भर्ना भएकी थिइन। ज्वरो, खोकी र स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि स्टार अस्पतालमा भर्ना भएकी थिइन। साउन ६ गते कोरोना पुष्टि भएपछि उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ। सरकारले शुक्रबार पीसीआर विधिबाट १० हजार ७ सय ६८ नमुना परीक्षण गरेको छ। जसमा २ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ। उपत्यका छिर्ने विभिन्न नाकाहरुमा समेत परीक्षण गरिएको छ। साँगा फर्पिङ र थानकोट गरी १० हजार २ सय ५ जनाको संकलन गरी परीक्षण गरिएको छ। अहिलेसम्म ३ हजार ७ सय १३ जना रिपोर्ट आएकोमा २५ जनामा पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो।
अहिले देशभरीका आइसोलेसनमा ५ हजार ३ सय १६ जना रहेका छन। यस्तै प्रदेश नम्बर १ मा २ सय २२, प्रदेश नम्बर २ मा २ हजार ३४, बागमती प्रदेशमा ५ सय ७२ र गण्डकी प्रदेशमा ३ सय २४ जना रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा ३ सय ८५, कर्णाली प्रदेशमा २ सय ९६ र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ८३ जना उपचाररत रहेका प्रवक्ता डा. गौतमले बताउनुभयो। शुक्रबार १ सय ५१ जना संक्रमित निको भएर घर फर्किएका छन। प्रदेश नम्बर १ मा ८ सय ३१, प्रदेश नम्बर २ मा ३ हजार १ सय १, बागमती प्रदेशमा ५ सय २६ र गण्डकी प्रदेशमा १ हजार २ सय ४४ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ७१, कर्णाली प्रदेशमा १ हजार ७ सय १८ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ८ जना डिस्चार्ज भएका छन। अहिले देशभरीका क्वारेन्टिनमा १२ हजार १ सय ११ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ७७, प्रदेश नम्बर २ मा १ हजार ७ सय ३१, बागमती प्रदेशमा ९ सय १६ र गण्डकी प्रदेशमा ३ हजार १ सय ६५ जना रहेका छन। यस्तै प्रदेश नम्बर ५ मा १ हजार ६ सय ७४, कर्णाली प्रदेशमा ४ सय ९४ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ५४ जना रहेका छन।









































