काठमाण्डौ, 3 जुन 2020
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएसँगै मृतकको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोलखाका ७६ पुरुषको कोरोनाका कारण निधन भएसँगै मृतकको संख्या ९ पुगेको हो । जेठ १३ गते काठमाडौं मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका उनको १५ गते स्वाव संकलन गरिएको थियो । परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएसँगै थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । आइसियुमा उपचाररत उनको निधन भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । नेपालमा बुधबार २ सय १ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।
प्रवक्ता देवकोटाका अनुसार विराटनगरमा भएको परीक्षणमा धनकुटाका १ जना, धरानमा भएको परीक्षणमा सप्तरीका १, ताप्लेजुङका ३, झापाका १, पाँचथर १ जना र सुनसरीका ७ जनामा कोरोना पोजेटिभ देखिएको हो । यसैगरी नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ र सल्यानका २ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोसी अस्पतालमा गरिएको परीक्षण्मा मोरङका २, झापा १ जना, तेह्रथुमका १ सुनसरी १ जनामा कोरोना पोजेटिभ देखिएको हो । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना र डोटीका २ जनामा संक्रमण देखिएको प्रवक्ता देवकोटाले बताउनुभयो ।
यसैगरी रुपन्देहीमा भएको परीक्षणमा ९५ जनाको पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका ६७, पाल्पाका २ जना र रुपन्देहीका २६ जना रहेका छन् । जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका ६ र कालिकोटका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ५, प्युठानका २ र सल्यानका १ जनामा पोजेटिभ देखिएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा धनुषाका १, कपिलवस्तुका २ जना, काठमाडौंका ३ जना, नवलपरासीका ८ जना, रौतहटका ११ जना, रुपन्देहीका १ जना, सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । बुधबारसम्म नेपालमा ६४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।









































