काठमाण्डौँ, 12 अप्रेल
नेपालमा कोरोना भाइरस (कोभिड-19) संक्रमितको संख्या 12 पुगेको छ। क्वारेन्टिनमा रहेका 3 जना व्यक्तिहरुको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या 12 पुगेको छ। नयाँ संक्रमित 37, 44 र 55 वर्षिय पुरुषहरुको वीरगञ्जमा रहेको नारायणी अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो। पर्साको बिरगञ्ज महानगरपालिका, वडा न. 2, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका 21 जनाको परिक्षण गर्दा 3 जनामा पोजेटिभ देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो 24 घण्टामा 6 सय 28 जनामा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ। नयाँ संक्रमण देखिएका व्यक्तिहरुको अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ। नयाँ संक्रमण देखिएका व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम अघि बढेको प्रवक्ता डा. देवकोटाले बताउनुभयो।
सरकारले पछिल्लो समय परीक्षणको दायरा बढाएको छ। प्रवक्ता देवकोटाका अनुसार पछिल्लो 24 घण्टामा देशभरी 7 सय 95 वटा नमुना परीक्षण गरिएको छ। उपत्यका बाहिर 1 सय 67 जनाको नमुना परीक्षण भएको छ। अहिलेसम्म उपत्यकामा 4 हजार 20 र बाहिर 1 हजार 1 सय 64 गरी 5 हजार 1 सय 84 जनाको नमुना परीक्षण गरिएको छ। आइतबारसम्म स्वाव परीक्षण पीसीआर विधि र ऱ्यापिड डाइग्नोस्टिक विधिबाट गरी 3 हजार 3 सय 21 जनाको गरी 8 हजार 8 सय 5 जनाको परीक्षण भएको छ। सबै प्रदेशका सबै जिल्लामा किट पुगिसेको उहाँले बताउनुभयो। अहिले 7 हजार 9 सय 73 जना क्वारेन्टिनमा रहेका छन्। उपत्यकामा 15 र उपत्यका बाहिर गरी 70 जना गरी 85 जना आइसोलेसनमा रहेका छन्। यसअघि कैलालीमा 4, बागलुङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा 2—2 जना कोरोना कोरोना पोजेटिभ देखिएका व्यक्तिहरु उपचाररत रहेका छन्। 1 जना उपचारपछि घर फर्किका छन्।









































