काठमाण्डौं, 17 जुन 2020
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । मृगौला सम्बन्धि समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो । १ गते नै कोरोना परीक्षणका लागि उनको स्वाव संकलन गरिएपनि २ गते मात्रै रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ र पछिल्लो २४ घण्टामा १० हजार २४ परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् । ५ हजार ९ सय ९० जना विभिन्न अस्पतालका आइसोलेनमा उपचाररत रहेका छन् । बुधबारसम्म १ हजार १ सय ६७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । नेपालमा आज अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् । मन्त्रालयका अनुसार आज ५ सय ८६ जना नयाँ संक्रमित थपिएका छन् ।









































