काठमाण्डौँ, 23 जुन
नेपालमा कोरोना भाइरस (कोभिड—19) बाट मृत्यु हुनेको संख्या 24 पुगेको छ। दैलेखका 45 वर्षिय पुरुषको मृत्यु भएसँगै मृतकको संख्या 24 पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेखको दुल्लु 3 का 45 वर्षका पुरुषको प्रादेशिक अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो। मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले उनि क्षयरोग र दमको विरामी समेत रहेको बताउनुभयो। सोमबार उनको मृत्यु भएको हो। 3 गते स्वाव संकलन गरिएकोमा असार 4 गते कोरोना पुष्टि भएको थियो।
नेपालमा कोरोना संक्रमितको संख्या 10 हजार नाघेको छ। मन्त्रालय प्रवक्ता डा. गौतमका अनुसार मंगलबार 90 महिलासहित 538 जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या 10 हजार 99 पुगेको हो। मंगलबार 76 जना गरी अहिलेसम्म 2 हजार 224 जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। अहिले 7 हजार 851 जना संक्रमित उपचारका लागि विभिन्न अस्पतालका आइसोलेसनमा रहेका छन्।
मंगलबार पीसीआर विधिबाट 4 हजार 995 गरी अहिलेसम्म 1 लाख 86 हजार 366 जनाको पीसीआर परीक्षण भएको छ। यस्तै मंगलबार आरडीटी विधिबाट 3 हजार 481 गरी अहिलेसम्म 2 लाख 71 हजार 584 जनाको आरडीटी परीक्षण गरिएको छ। अहिले 85 हजार 813 जना क्वारेन्टिनमा रहेका छन्।









































