नेपालसँगै भारतमा पनि ‘आदिपुरुष’को चर्को विरोध
काठमाडौं, 19 जुन 2023
प्रभास र कृति सेनन स्टारर फिल्म ‘आदिपुरुष’ लाई लिएर विवाद जारी छ। यो फिल्मले नेपालमा प्रतिबन्ध खेपिरहेको, भारतमै पनि चर्को विरोधको सामना गरिरहेको छ। मुम्बईको नालासोपारामा हिन्दू संगठनका कार्यकर्ताहरुले आइतबार राति फिल्मको शो नै बन्द गरिदिएका थिए।

हलमै पुगेर हिन्दू संगठनका कार्यकर्ताले नाराबाजी गर्दै दर्शकहरुलाई त्यहाँबाट निकालेका थिए।कार्यकर्ता र थिएटर म्यानेजरबीच त्यहाँ भनाभन पनि भएको थियो। त्यसपछि उक्त शो नै रद्द गरियो। यता नेपालको काठमाडौं महानगरपालिकाले पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाएको छ। फिल्ममा सीतालाई भारतीय छोरी भनिएपछि नेपाली सेन्सर बोर्डले पनि आपत्ति जनाएको छ।

नेपाली पक्षले सीताको जन्म भारतमा नभएर नेपालको जनकपुरमा भएको जनाएको छ। विवाद बढेपछि काठमाडौंका मेयर बालेन्द्र शाहले आइतबारदेखि नै यो फिल्ममाथि प्रतिबन्ध लगाइदिएका छन्।
यता विवादपछि यो फिल्म निर्माताले विवादित संवाद फेर्ने निर्णय लिएको छ। फिल्मका लेखक मनोज मुन्तशिरले आइतबार ट्विट गर्दै आफ्नो सफाइ दिएका छन्। उनले फिल्मबाट विवादित संवाद यसै हप्ता हटाइने बताएका छन्।

यता नेपालको धरानमा पनि ‘आदिपुरुष’को प्रदर्शन रोकिएको छ ।
मेयर हर्क साम्पाङले नगरभित्रका हलहरूमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन् ।
‘धरानमा आदिपुरुषको प्रदर्शन नगर्नु होला’, सोमबार मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन् । यसअघि काठमाडौँ र पोखरामा प्रदर्शन निषेध गरिएको थियो ।

पोखरा महानगरपालिकाले पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको छ ।
यो समाचार पनि पढनुहोस्…









































