काठमाण्डौ, 8 सेप्टेम्बर
नेपाली कांग्रेसले बिपी कोइरालाको १०७ औं जन्मजयन्ती तीन दिनसम्म मनाउने भएको छ । भदौ २४, २५ र २६ गते जुम एपमार्फत् विभिन्न शीर्षकमा विचार गोष्ठी गरेर बिपीको जन्मजयन्ती मनाइने कांग्रेसले जनाएको हो ।
भदौ २४ गते दिउँसो १ बजे ‘बिपीको विचार नेपालको समन्नतिको मूल बाटो’ विषयको विचार गोष्ठी आयोजना हुनेछ । त्यसमा मुख्य वक्ताका रुपमा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायत सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भएको छ ।
भदौ २५ गते दिउँसो १ बजे नै ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बिपीको योगदान’ विषयमा विचार गोष्ठी हुने छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले संयोजन गर्ने सो कार्यक्रममा उपसभापति विमलेन्द्र निधि र विज्ञहरुको सहभागिता रहनेछ ।
भदौ २६ गते दिउँसो १ बजे नै ‘विचार निर्माण एवं प्रचारमा बिपीको शैलीको आलोकमा अबको रणनीति’ विषयमा विचार गोष्ठी आयोजना गरिने कांग्रेसले जनाएको छ । सूचना, संचार तथा प्रचार विभागले संयोजन गर्ने यो कार्यक्रममा नरहरि आचार्य, प्रदीप गिरिलगायतका नेताहरु वक्ताका रुपमा रहने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले जानकारी दिनुभयो ।
बिपी कोइरालाको जन्मजयन्ती भदौ २४ गते पर्दछ । कांग्रेसले बिपी जयन्ती भौतिक दूरी कायम गरेर, मास्क प्रयोग गरेर वा भर्चुअल विधिबाट मनाउन जिल्ला र विदेशस्थित सम्पर्क समितिलाई एक साताअघि नै परिपत्र गरिसकेको छ ।









































