नयाँ दिल्ली, 25 जनवरी 2021
भारतमा मंगलवार हुने गणतन्त्र दिवस समारोहका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । शान्ति व्यवस्थालाई कायम राख्न नेपाल-भारत सीमा पनि भारतीय सुरक्षा बलले कडा चेकजाँच गरिरहेको छ । हरेक वर्ष 26 जनवरीका दिन भारतमा गणतन्त्र दिवस मनाइन्छ । भारतको राजधानी दिल्लीमा विशेष कार्यक्रम हुने गर्दछ भने देशका अन्य राज्यहरुमा पनि कार्यक्रमहरु हुने गर्दछ ।
यद्धपी कोरोना महामारीका कारण नेपाल भारत सीमा बन्द रहेको छ । तर आवश्यक परेकाहरुलाई आवत-जावत गर्न दिइएको छ । नेपाल-भारत खुल्ला सीमानाका कारण एसएसबीका जवानहरुले गणतन्त्र दिवस समारोहका कारण निगरानी बढाएको छ । सुरक्षा बलले सीमा पार गर्ने हरेक व्यक्तिहरुको कडा चेकजाँच गरिरहेको छ ।
गणतन्त्र दिवसलाई लिएर एसएसबी, पुलिस र गुप्तचर एजेन्सीहरुलाई उच्च सतर्कतामा राखिएको छ । नेपाल भारत सीमामा कडा निगरानी गर्न निर्देश जारी गरिएको छ । त्यसैले पनि सीमा पार गर्ने 2 पाङ्ग्रे र 4 पाङ्ग्रे गाडी र मानिसहरुको सामान्य दिनभन्दा कडाईका साथ चेकजाँच भइरहेको छ । भारतले आफ्नो संविधान लागू गरेको दिनको स्मरणमा हरेक वर्ष 26 जनवरीमा भव्य रुपमा गणतन्त्र दिवस मनाउने गर्दछ । राजधानी दिल्लीमा विशेष समारोह हुने गर्दछ । यस समारोहमा कुनै एक देशका राष्ट्राध्यक्षलाई प्रमुख अतिथिका रुपमा पनि निमन्त्रणा गरिन्छ । यस वर्ष ब्रिटेनका प्रधानमन्त्री बोरिस जनसनलाई निमन्त्रणालाई प्रमुख अतिथिका रुपमा बोलाईएको थियो । उहाँले कोभिड-19 महामारीका कारण आउन नसक्ने बताएपछि यो वर्ष कुनै देशका राष्ट्राध्यक्ष प्रमुख अतिथि नहुने भएका छन ।









































