काठमाण्डौँ, 10 फरवरी 2020
राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको निमन्त्रणामा नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन(सिनेट)का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले सोमबार राष्ट्रिसभाको अवलोकन गरेको छ। राष्ट्रियसभाको बैठकको सुरुमै अध्यक्ष गणेश तिमिल्सिनाले नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जर्ज जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डललाई बैठकमा स्वागत गर्नुभएको थियो। जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले विशिष्ट दिर्घामा बसेर राष्ट्रियसभा संञ्चालनको अवलोकन गरेको थियो। सोमबारको बैठकमा दलिय आधारमा बोल्दै राष्ट्रियसभाका सदस्यले फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डलको स्वागतार्थ मन्तव्य दिएका थिए। नेकपाका राष्ट्रियसभाका प्रमुख सचेत दिनानाथ शर्माले क्यानडाको संसदीय प्रतिनिधिमण्डलाई स्वागत गर्दै नेपाल बसाई सुखमय वितोस् भन्ने कामना गर्नुभयो। उहाँले क्यानडाको राजनीतिक र संसदीय प्रणालीको चर्चा गर्दै नेपालको संसदीय र राजनीतिक प्रणालीका धेरै विशेषता र मौलिकता क्यानडासंग मिल्दो रहेको बताउनुभयो। राष्ट्रियसभाले सबै जातजाति र समुदायको प्रतिनिधित्व गरेकाले राष्ट्रियसभा सप्तरंगी इन्द्रेणीको रुपमा अवस्थित रहेको बताउनुभयो।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभाका प्रमुख सचेतक सुरेन्द्रराज पाण्डेले क्यानडेली संसदको प्रतिनिधि मण्डलको स्वागत गर्र्दै भ्रमणले नेपाल र क्यानडाबीच सम्बन्ध थप दौत्य हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल र क्यानडाको राजनीतिक प्रणालीमा धेरै समानता रहेको चर्चा गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानको विशेषताको व्याख्या पनि गर्नुभयो। कयौ अधिकारलाई संविधानले प्रत्याभूति गरेको भएपनि पछिल्लो समय संविधानले प्राप्त गरेको उपलब्धिलाई सरकारले कानुन निर्माण गरेर नियन्त्रण गर्ने प्रयत्न पनि भएको गुनासो गर्नुभयो। सुचना प्रविधि विधेयक, राष्ट्रिय सुरक्षा परिषद् मानवअधिकार आयो तथा नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी विधेयकहरुले जनताको गोपनियताको हनन गर्ने हुन् कि भन्ने आशंका उब्जाएको उल्लेख गर्दै त्यस्ता विधेयकहरुलाई सच्याउन सरकारलाई सचेत गराउनुभयो। स्वतन्त्र न्यायीक निकायलाई स्वतन्त्रपुर्वक काम गर्ने वातावरण मिलाउन पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो। नेपालमा अझै पनि भ्रष्टाचार नियन्त्रण हुन नसकेको र भ्रष्टाचार छानविन गर्ने स्वतन्त्र निकायमा सरकारले हस्तक्षेप गरि आफु अनुकुल निर्णय गराउन उद्धत रहेको आरोप लगाउनुभयो। उहाँले नाम उल्लेख नगरिकनै ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छाया बनेर विभेदपुर्ण रुपमा मुद्धा दर्ता गराएको मा आक्रोश पोख्नुभयो। उहाँले चीनमा रहेका नेपाली विद्यार्थीलाई नेपाल फर्काउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो।
राष्ट्रिय जनता पार्टी नेपालका राष्ट्रियसभा सदस्य रमेश प्रसाद यादवले नेपाल भ्रमणमा रहेको क्यानडाको उपल्लो सदन(सिनेट) का सभामुख जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डललाई स्वागत गर्दे सुखद नेपाल बसाईको कामना गर्नुभयो। उहाँले भ्रमणले क्यानडा र नेपालको सम्बन्ध अझै प्रगाढ बनोस् भन्ने कामना गर्नुभयो । उहाँले संविधान संसोधन गरेर सबैको अधिकार सुनिश्चित गर्दै सर्वस्वीकार्य बनाएर अघि बढ्न आग्रह गर्नुभयो। उहाँले उखु किसानको समस्या सम्बोधन, चुरे संरक्षण, पानीको स्रोत तथा सिंचाईको स्रोत संरक्षण लगायत विषयमा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो।
राष्ट्रियसभाको सोमबारको बैठकका अन्य कारवाहीहरु कार्यसूचीबाट हटाईएको थियो। राष्ट्रियसभाको अर्को बैठक फागुन ५ गते सोमबार अपरान्ह १ बजेका लागि बोलाईएको छ।









































