दिल्ली, 9 अक्तूबर 2021
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल र नेपालीको राष्ट्रियता बलियो हुनु भारतको लागि हितकर हुने बताउनु भएको छ । आदित्यनाथले भारत नेपालको सबैभन्दा नजिकको मित्र रहेको र उसको समृद्धि भारतीय जनताले चाहेको बताउनु भयो ।
‘नेपाल जति समृद्धि र बलियो हुन्छ, त्यो त्यति नै भारतका लागि हितकर हुन्छ,’ भन्नु भयो –‘त्यसका लागि भारत सरकार र भारतीय जनताले हरसम्भव सहयोग नेपाललाई गर्ने छन् । ’
शनिबार लखनऊमा नेपाली कांग्रेसका नेताहरुसँगको भेटघाटमा मुख्यमन्त्री आदित्यनाथले नेपाली जनता धेरै विश्वसनीय रहेको चर्चा गर्नु भएको थियो । दुई देशका जनताबीचको आदित्यनाथले समान धर्म र संस्कृति रहेको सम्बनधलाई थप बलियो बनाउनुपर्नेमा दुवै पक्षका सरकारले जोड दिनुपर्ने उल्लेख गर्नु भयो । आदित्यनाथले नेपाललाई सहयोग गर्ने कुरालाई भारतले सदैव प्राथमिकतामा राख्नुपर्ने र समस्याहरुको समाधान गरेर अगाडि बढ्नुपर्ने बताउनु भएको थियो । भारतीय जनता पार्टीको विदेश विभागको निम्तोमा यहाँ आएका कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत, नेताहरु अजयकुमार चौरसिया र उदयशमशेसर राणा तीन दिनदेखि बिजेपीका नेताहरुसँग भेटघाटमा व्यवस्त भएका छन् । महतले भारतीय सहर र सीमा क्षेत्रमा नेपालीले भोग्ने समस्या तर्फ मुख्यमन्त्री योगीको ध्यानाकर्षण गराउनु भएको थियो । त्यस्तै, बनारसमा रहेको नेपाली पशुपतिनाथ मन्दिरको संरक्षणको कुरा पनि उठाउनु भएको थियो । कांग्रेस नेताहरु लखनउपछि उत्तरप्रदेशकै अर्को सहर बनारस पुगेका छन् ।









































