दिल्ली, 30 जून 2022
भारतको उत्तराखण्ड राज्यस्थित नैनीतालमा रहेको सेरउड कलेजमा आठ वर्षअघि भएको नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा तीन जनालाई सजाय सुनाइएको छ। नेपाली विद्यार्थी सान प्रजापतिको मृत्यु प्रकरणमा अदालतले कलेजका प्रधानाचार्यसहित तीनजनालाई दोषी ठहर गरेको हो। बुधबार नैनीतालस्थित जिल्ला अदालतले आठ वर्षपछि उनीहरूलाई जनही दुई वर्ष कैद र 50 हजार रुपैयाँ जरिमाना गर्ने फैसला गरेको छ। अदालतले प्रधानाचार्य अमनदीप सन्धु, होस्टेल वार्डेन रवि कुमार र परिचारिका पायललाई दोषी ठहर गरेको हो।आठ वर्ष ढिलो भए पनि नेपाली विद्यार्थीको मुद्दामा न्याय मिल्दा खुसी भएको पीडितका आफन्तले बताएका छन्। मृतक सानकी आमा निना श्रेष्ठले पनि नैनीताल अदालतको फैसलाप्रति खुसी व्यक्त गरेकी छन्। ‘चर्च अफ नर्थ इन्डिया’द्वारा सञ्चालित सेरउड कलेजमा सानको 28 कात्तिक 2071 मा मृत्यु भएको थियो। कक्षा 9 मा अध्ययनरत उनको मृत्यु कलेजको लापरबाहीका कारण भएको भन्दै न्यायको माग हुँदै आएको थियो। नैनीताल अदालतमा यो मुद्दा घटनाको दुई वर्षपछि पुगेको थियो। सेरउड कलेजमा कक्षा ६ मा भर्ना भएका सान कक्षा ९ का विद्यार्थी थिए। त्यसवेला उपचार अभावमा उनको मृत्यु भएको थियो।









































