काठमाडौं, 7 अप्रैल 2023
राष्ट्रिय जनमोर्चा पार्टी (राजमो)ले सरकारको न्यूनतम साझा कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर प्रयोग गरिएकोप्रति आपत्ति जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै अध्यक्ष केसीले बिहीबार सार्वजनिक न्यूनतम साझा कार्यक्रममा डिजिटल हस्ताक्षर राखिएकोप्रति ध्यानाकर्षण भएको जनाए । “विगत पाँच दलीय गठबन्धनको सरकार गठनको क्रममा पनि जारी गरिएको न्यूनतम साझा कार्यक्रमप्रति हामीले त्यही नीति अपनाएका थियौँ ।
पाँच दलीय सरकारद्वारा जारी गरिएको न्यूनतम साझा कार्यक्रममा हामीले हस्ताक्षर गरेका थिएनौँ । अहिले पनि हाम्रो त्यो नीति कायम नै छ,” राजमोको विज्ञप्तिमा उल्लेख छ । आफ्नो डिजिटल हस्ताक्षर कता राखिएको छ भन्नेबारे प्रधानमन्त्री र आफूबीच संवाद भएको तर, त्यो हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा कुरा नभएको केसीले स्पष्ट पारेका छन् ।









































