काठमाडौं, 15 दिसम्बर 2021
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीलाई बेथितिमा चलाउने प्रयास भए सशक्त प्रतिवाद गर्ने बताउनुभएको छ । पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि बुधबार काठमाडौंमा आयोजित धन्यवाद कार्यक्रममा उहाले पछिल्ले साढे पाँच बर्ष पार्टी बेथितिमा चलेको भन्दै अव पनि पार्टीलाई बेथितिमा चलाउने प्रयास भए सशक्त प्रतिवाद गर्ने बताउनुभएको हो । उहाले निर्वाचनको परिणामलाई लिएर आफ्नो मनामा कुनै कुन्ठा नरहेको स्पष्ट पार्नुभयो । महाधिवेशनमा आफूलाई महाधिवेशन प्रतिनिधिहरुका साथै नेता कार्यकर्ताले देखाएको मायाले विजयी भएको उहाको भनाई छ । त्यस्तै उहाले कांग्रेसको रुपान्तरणको लागि लागेको भन्दै निरन्तर घरदैलोमा पुग्ने बताउनुभयो । अव भागबण्डा र गुटबण्दीको राजनीतिमा आफू नलाग्ने भन्दै काम गर्दै जाने र त्यहीँबाट देउवा समूहलाई सोच्न बाध्य बनाउने जिकिर गर्नुभयो । कार्यक्रममा कांग्रेस नेता गगन थापाले मध्य रातिसम्म नेतृत्व परिवर्तन नभए कांग्रेस सकिन्छ भन्ने केहि नेताहरुको भनाइ नै परिर्वतन भएको प्रति प्रश्न गरिरहने बताउनुभयो । उहाले अव कांग्रेसको सभापति गुटको सभापति होइन सबैको सभापति बन्नुपर्ने जिकिर गर्नुभयो । थापाले पार्टी सभापतिसंग पार्टीको हितमा सहकार्य गर्दै पार्टी चुक्ने ठाउँमा रोक्ने बताउनुभयो ।









































