काठमाण्डौँ, 23 अप्रेल
समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले आफु कुनैपनि किसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको बताउनुभएको छ। नेता राईले पछिल्लो समय आफुहरुले पार्टी फुटाउन लागेको भन्ने कुरा हल्ला मात्रै भएको बताउनुभएको छ। बिहीबार संवाददातासँग कुरा गर्दै पूर्व मन्त्री समेत रहनुभएका नेता राईले आफ्नो पार्टीभित्र केही विषयमा विवाद रहेको तर पार्टी नै फुटाउने खेलमा नलागेको प्रस्ट पार्नुभयो। उहाँले सञ्चारमाध्यममा यो विषय कसरी आएको छ आफुले थाहा पाउन नसकेको समेत बताउनुभयो। उहाँले पछिल्लो घटनाक्रमले पार्टीलाई राम्रै गरेको बताउनुभयो। उहाँले संघर्ष गरिरहेका शक्तिहरु एकठाउँमा आउनु खुशिको कुरा भएको समेत बताउनुभयो।
उहाँले पार्टीभित्र फरक मत रहने वित्तीकै पार्टी विभाजन नै हो भन्ने बुझाई राख्न नहुने बताउनुभयो। ठूला पार्टीमा झन ठूलो विवाद रहेको त्यसमा मिडियाको ध्यान नजाने तर सानो पार्टीमा चासो बढेको र यसले आफुमाथि लागेको आरोप दुर्भाग्यपूर्ण भएको बताउनुभयो। सरकारले ल्याएको अध्यादेशका विषयमा के भन्नुहुन्छ भन्ने प्रश्नमा नेता राईले पार्टीले सार्वजनिक गरेको धारणा नै आफ्नो पनि धारणा भएको बताउनुभयो।









































