काठमाडौं, 16 सेप्टेम्बर 2020
निर्माणाधिन पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति ६३ प्रतिशत सम्पन्न भएको छ। सन २०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भएपनि कोभिडका कारण केही समस्या हुने देखिएको छ। यद्यपी अहिलेसम्म विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकिएको छ। विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन, ट्रान्सफर्मरहरु, केबुल र लाइटिङ लगायतका कामहरु सम्पन्न भएका छन। माटो कटान र फिलिङ गर्नेकाम ९८ प्रतिशत सकिएको छ । गाडी गुड्ने रोड, एक्सेसस रोड र ट्रमिनल बिल्डिङको काम पनि अन्तिम चरणमा पुगेको छ। कार पार्किङको कामपनि सकिएको र बिल्डिङको हकमा १४ वटा बिल्डिङको स्ट्रक्चर सकेर फिनिसिङको काम सकिइसकेको विमानस्थलका आयोजना प्रमुख विनेश मुनाकर्मीले बताउनुभयो ।
निर्धारित समयभन्दा ६ महिना अघि नै काम सम्पन्न गर्ने लक्ष्य भएपनि कोरोना महामारी र लक डाउनका लागि चिनियाँ कामदार उतै रोकिएकाले धेरै समय काम हुन सकेन । लकडाउनले २ सय चिनियाँ कामदार रोकिएकाले केही निर्माण कार्य केही पर धकेलिएको उहाँले बताउनुभयो । विमानस्थलमा अहिले २ सय ४४ चिनियाँ र १ सय १८ नेपाली कामदार रहेका छन । विमानस्थल निर्माण सामाग्रीको भने अभाव नरहेको उहाँले बताउनुभयो । लकडाउन अघि नै आवश्यक सामाग्री चीनबाट ल्याइएको र केही सामान भारतीय कलकत्ता बन्दरगाहबाट आउने क्रममा रहेकाले निर्माण सामग्रीको अभाव नहुने उहाँले बताउनुभयो ।









































