काठमाडौं, 1 नवम्बर 2021
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिको केन्द्रमा माओवादी नै भएको दाबी गर्नु भएको छ । कीर्तिपुरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीको साथले नै गठबन्धनबाट ६ वटै प्रदेशमा ओली प्रवृति परास्त गरेको बताउनु भएको छ । उहाँले माओवादीलाई साथ दिँदा राष्ट्रिय हित हुन्छ भन्ने जनतामा भाव पैदा हुन थालेको स्पष्ट पार्नु भएको छ । उनले पार्टी विभाजन नभई अदालतबाट विभाजन गराइएको दाबी गर्नु भयो ।
प्रचण्डले भन्नु भयो, ‘ओलीलाई पार्टीबाट दुईतिहाई मतले निकालिएको थियो । संसदीय दलको नेताबाट पनि हटाइएको थियो । संसदीय दलको नेताबाट मलाई निर्वाचित गरेर मलाई प्रधानमन्त्री बनाउने निर्णय गरिएकै दिन अदालतबाट नेकपालाई विभाजन गरी एमाले र माओवादी बनाइयो ।’
प्रचण्डले जनताको लोकतन्त्र, संविधानको रक्षा र राष्ट्रियताका विषयमा आधारभूत सहमति भएपछि गठबन्धनको सरकार बनेको बताएका छन् । उनले माओवादीकै सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सिफारिस गरेपछि अदालतले नियुक्त गर्न आदेश दिएकाले माओवादीकै विचारको जीत भएको बताउनु भएको छ ।
माओवादीले गरेका कामको प्रचार कम भएको बताउनु भयो । ‘हामीले राम्रा(राम्रा काम गर्यौं, सामान बनायौं । बिक्री गर्न जानिराखेका छैनौं, मार्केटिङ गर्ने हाम्रो क्षमता अलि पुगेको छैन’, प्रचण्डले भने, ‘ऐतिहासिक काम, जनताका जीवनमा परिवर्तन ल्याउन गरिएका विकास निर्माणका कामहरू जनताको बीचमा स्थापित गर्न जरुरी छ ।’









































