काठमाडौं, 23 डिसेम्बर 2020
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका सांसदहरुको बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको छ । बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको प्रचण्ड–माधव समूहका सांसदहरुको बैठकले संसदीय दलको नेतामा प्रचण्डलाई सर्वसम्मत चयन गरेको हो । मंगलबार उक्त समूहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष एवं संसदीय दलको नेता केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गरेको थियो । यससँगै आज बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा अध्यक्ष प्रचण्डलाई चयन गरेको नेकपाका प्रमुख सचेतक देव गुरुङले बताउनुभयो ।
बैठकमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको जानकारी सांसदहरुलाई गराउनुभएको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाली संसद विघटन गर्नुभएकोले संवैधानिक रुपमा संसद विघटन नभएको बताउनुभयो । प्रचण्ड–माधव समूहका सांसदहरुको बैठकमा प्रतिनिधी सभा र राष्ट्रिय सभाका गरी १ सय १५ जना सांसदहरुको उपस्थिति रहेको प्रमुख सचेतक गुरुङले बताउनुभयो ।









































