काठमाण्डौ, 8 अप्रिल 2021
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरेका कामहरुको तथ्य र तथ्यांकमा टेकेर संसदभित्र बहस गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिनुभएको छ । प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै उहाँले मिथ्यांक अघि सारेर संसदबाहिर सभा सम्मेलनमा नभई तथ्यमा संसद भित्र बहस गर्न प्रधानमन्त्रीलाई चुनौति दिनुभएको हो । उहाँले कसैले प्रश्न नगर्ने सभा सम्मेलनमा प्रधानमन्त्रीले मिथ्यांक प्रस्तुत गर्ने गरेको दाबी गर्दै उहाँले एक एक वटा आयोजना र कामका बारेमा संसदमा बहस गर्न चुनौति दिनुभयो ।
उहाँले भन्नुभयो “प्रधानमन्त्री ज्यू तथ्य र तथ्यांकमा टेकेर बहस गर्नका निम्ति म तपाईलाई संसदमा निम्तो दिन चाहन्छु । होइन भने तपाई बाहिरको सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके ,चौतारे राखेर तपाईले माथिबाट ठोक्ने, तलबाट तालि बजाउने अनि माननीय सांसदहरुले संसदमा आएर बालकविता सुनाएर बस्ने होइन । म / हामी तपाईसंग बहस गर्न तयार छौ । तपाईले प्रस्तुत गर्नुभएको तथ्यमा टेकेर । ल आउनुहोस् । तपाई एउटा एउटा मन्त्रालयमा बहस गरौ । कहाँ तीनबर्षमा चमत्कार भएको छ ? पानीमा बहस गरौ । सडकमा बहसगरौ । पुलमा बस गरौ । राष्ट्रिय आयोजनाहरुको एउटा एउटा कुरामा बहस गरौ । तथ्य र तथ्यांकमा टेकेर बहस गरौ प्रधानमन्त्री ज्यू । नेपालको इतिहासमा सबैभन्दा बढी अवसर पाउनुभएको अवस्थामा काम कति भयो ? कसरी भयो ? भन्ने कुरामा बहस गर्न तपाईलाई यो संसदमा एउटा सांसद निम्तो दिन चाहन्छ । चुनौति दिन चाहन्छ । संसदलाई छलेर भागेर होइन , यहाँभित्र आएर छलफल गरौ । सिलन्यास र उद्घाटन नै गर्ने रहर हो भने सुरु भईसकेका पुलहरु सकिएपछाडि बालुवाटारको परिसर भित्र थुप्रै जग्गा खालि छ । त्यहीभित्र प्रत्येक दिन एउटा नया भवनको सिलन्यास गर्नुहोला । बनेका कोठाको फेरि उद्घाटन गर्नुहोला ।”
उहाँले सरकारको ३ बर्षे कार्यकालमा विकास निर्माणका काम चमत्कारिक ढंगले भएको भन्ने प्रधानमन्त्रीको दाबीलाई “अल्पज्ञान”को संज्ञा दिनुभयो ।
उहाँले भन्नुभयो “प्रधानमन्त्रीलाई यो चमत्कार भएको किन लागिरहेछ ? दुईवटा कारण हुनसक्छन् । एउटा कारण वास्तविकता के छ भन्ने कुरा प्रधानमन्त्री जी लाई थाहा छैन । चरम अल्पज्ञान वा ढाँट्ने बानी लागेको छ । विकृत असत्यभाषी । यी दुईवटै अवस्था राष्ट्रका निम्ति हानीकारक छ । खराब छ ।”
प्रधानमन्त्रीले संसदको रोष्टममा उभिएर २०७५ सालको अशोज सम्म मेलम्चीको पानी आउँछ भने पनि प्रधानमन्त्री र मन्त्रीको कुरा नमिल्दा र ठेकेदारसंग कुरा नमिल्दा साढे २ बर्ष बढी समय लागेको र डेढ अरब रुपैया अनावश्यक खर्च भएको भन्दै उहाँले भन्नुभयो “अहिले यत्रो फुर्ति ?”
उहाँले भन्नुभयो “कहिले धारा खोलेर, कहिले बाल्टिन थापेर, कहिले उठेर, कहिले बसेर उद्घाटन गरेको छ । तमासा गरेको छ । चमत्कार भयो भनेको छ । ६७ सालमा सुरु भएको अपर तामाकोशी ७३ सालमा सकिनुपर्ने अब आउने सालको बैशाखतिर पहिलो युनिट सुरु हुदैछ । अब हेर्नुहोला सभामुख महोदय, हामी हेर्छो, ठ्याक्कै मेलम्चीको जस्तो अहिले गरिएको जुन तमासा छ, अब यो तामाकोशीमा देखाईनेवाला छ । गजबै भो । चमत्कारै भो । प्रधानमन्त्री त कस्तो कस्तो । फ्याट्ट बिजुली बाल्दिनु भो । पानी झार्दिनुभो । अब कविताहरु हामी सुन्न पाउनेवाला छौ । ”
उहाँले बुढीगण्डकी, फास्टट्रयाक , पश्चिम सेती, कर्णाली करिडोर, कोशी करिडोर, बबई सिंचाई आयोजना, सिंक्टा सिंचाई आयोजना लगायत बर्षोदेखि थला परेका राष्ट्रिय गौरवका आयोजनाहरु को निर्माण सम्पन्न गर्ने सम्बन्धमा भने सरकार उदासिन भएको आरोप लगानुभयो ।
निर्माण सकिएर चालु भएको २ बर्ष भईसकेको सिन्धुली र राप्तीको पुल उद्घाटन गरिएको,बीच बाटोमा पुगेको कामको सिलन्यास गरिएको, कसैको डिपिआर नै नभएको भन्दै उहाँले बालुवाटारमा नै निर्माण सम्पन्न कोठाको सिलन्यास गरेर सिलन्यास र उद्घाटन गर्ने रहर पुरा गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो “सब स्टेशन चार्ज भएको कहिले ? अस्ति गएर थिचेको छ बटन । यो के को तमासा हो । अस्तिभर्रखर १ सय ६५ वटा बटन ट्याक्क थिचेर सडक उद्घाटन । कति सजिलो छ । पैसा ३ अरब छ, लाग्छ ५७ अरब । डिजाईन पनि छैन । पैसा छैन । डिजाईन पनि नचाहिने ? पैसा पनि नचाहिने ।”
दिनको ३ किलोमिटर विस्तार नभएको बेला दैनिक १० किलोमिटर पीच भएको भनी प्रचार गरिएको उल्लेख गर्दै उहाँले क्यालकुलेटरले हिसाव गर्न प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो “एउटा निर्वाचन क्षेत्रमा १० वटा ठोक्दिउँ । एकैचोटी १६ सय ५० वटा । प्रधानमन्त्री यत्तिको बहादुर भएको बेलामा । ठोक्दिए भैहाल्यो नि सभामुख महोदय । प्रधानमन्त्री ज्यूले अहिले आएको छ १० किलोमिटर बाटो दिनको पिच भएको छ भनेको छ । क्यालकुलेटर ल्याएर हिसाब गरौ न ।”
नियम, कानुन र काम लगाउने निकायको क्षमता लगायत पुर्वाधार निर्माणमा रहेको आधारभूत समस्याहरु सम्बोधन गर्न आफुहरु तयार रहेको भन्दै उहाँले त्यसतर्फ प्रधानमन्त्र्रीलाई रुची नै नभएको दाबी गर्नुभयो ।









































