काठमाण्डौ, 29 जनवरी 2021
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अभिमतविरुद्ध फैसला गर्न नसक्ने भन्दै अवसरको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । प्रतिनिधि सधा विघटनको विरोधमा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं. ६ काठमाडौँले शुक्रबार शान्ति बाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता सिटौलाले अदालतले आम जनताको भरोसा र आशा जुटाउने अवसर पाएको भन्दै अवसरको सदुपयोग गरिनुपर्ने बताउनुभयो । उहाँले अदालतले आफ्नो क्षमता प्रकट गरेर संविधानको रक्षा गर्न सक्छ भनेर जनतालाई सन्देश दिने सुनौलो अवसर पाएको पनि बताउनुभयो । प्रधानमन्त्रीलाई मन लाग्दैमा संसद भंग गर्न नपाओस् भनेर संविधान निर्माणताका संविधानमा धारा ७६ को व्यवस्था गरिएको उहाँको भनाई छ । उहाँले प्रतिनिधि सभा विघटन गर्ने आफ्नो गल्ती स्वीकार गर्न आग्रह पनि गर्नुभयो ।

त्यसैगरी, कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता गगन कुमार थापाले अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्न आग्रह गर्नुभएको छ । कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दीन भन्ने भन्दै उहाँले अदालतमा भएको प्रतिनिधि सभा विघटनको मुद्दालाई कांग्रेसले असंवैधानिक कदम भनिसकेको बताउनुभयो ।
नेता थापाले अदालतले दायाँबायाँ फैसला नगर्ने विश्वास व्यक्त गर्नुभयो ।









































